सूर्यविनायक नगर प्रमुखलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

भक्तपुर, असार २
नेपाली कांगं्रेस सूर्यविनायक नगर कार्य समितिले सूर्यविनायक नगर प्रमुख बासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको कांग्रेस प्रतिनिधि मण्डलले बुधवार नगरप्रमुख थापालाई उहाँकै कार्यकक्षमा पुगेर ध्यानाकर्षपत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा नगरभित्र निर्माण सुरु गरिएका तर सम्पन्न हुन नसकेर अलपत्र बनेका, बिग्रिएका सडक, पुल पुलेसा, विद्युत, खानेपानी लगायतका पूर्वाधारका कामहरु अविलम्ब निर्माण सम्पन्न गर्नुपर्ने, उपभोक्ता समिति गठन गर्दा सरोकारवाला समुह, समुदायको बृहत भेला बोलाएर मात्र उपभोक्ता समिति गठन गर्नुपर्ने र उपभोक्ता समितिका काम कारवाही पारदर्शी हुने व्यवस्था गर्नुपर्ने, सार्वजनिक सुनुवाईको व्यवस्था सुनिश्चित हुनुपर्ने, नगरपालिकाका सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण अन्त्य गरी संरक्षण गर्नुपर्ने, निजी क्षेत्रले जमिन प्लटिङ्ग गर्दा सार्वजनिक जमिन अतिक्रमण रोकिनुपर्ने उल्ल्ेख छ ।


त्यस्तै सूर्यविनायक नगरपालिका सबै वडामा आवतजावत गर्न सहज हुने गरी नगर यातायात सेवा सञ्चालन गर्नुपर्ने, प्रत्येक वडामा न्यूनतम ५ वटा बेडको अस्पताल संचालनमा ल्याउनुपर्ने, अस्पतालमा स्तरीय प्रयोगशाला तथा प्रर्याप्त चिकित्सकको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा गुणस्तरिय प्राविधिक शिक्षाको व्यवस्था गर्दे विद्यालयहरुको गुणस्तर वृद्धि गर्नुपर्ने, नीजि विद्यालयहरुलाई लगानी मैत्री वातावरण सृजना गर्दे व्यवस्थित गर्नुपर्ने, राजनीतिक आस्था तथा व्यक्तिगत प्रभावका आधारमा शिक्षकहरुबीच विभेद गर्ननहुने बुँदा कांग्रेसले बुझाएको ध्यानाकर्षमा उल्लेख छ ।
यस्तै सूर्यविनायक नगरपालिकालाई प्लाष्टिक झोला मुक्त नगरपालिका बनाउनुपर्ने, नगरको फोहर व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने, फोहोर संकलन शुल्क घटाउनुपर्ने, सार्वजनिक स्थानहरुमा सार्वजनिक शौंचालय व्यवस्था गर्नुपर्ने, खानेपानी समस्या देखिएका क्षेत्रहरुमा तत्काल खानेपानीको व्यवस्था गर्नुपर्ने, चर्को कर दर घटाउनुपर्ने, ‘जनप्रतिनिधी जनताका सेवक हुन, शासक होइनन्’ भन्ने मान्यतालाई आम नागरिकले अनुभव गर्नेगरी व्यवहारमा उतार्नुपर्ने, र विकास योजना कार्यान्वयन गर्दा ‘अधिकतम सहमति, न्यूनतम क्षती’को नीति अपनाउनुपर्ने माग कांग्रेसले ध्यानाकर्षण पत्रमार्फत गरेका छन ।
ध्यानकर्षण पत्र बुझ्दै नगर प्रमुख बासुदेव थापाले कांग्रेसले दिएका सुझावहरुलाई आफूले गंभिरतासाथ लिने बताउनुभयो । ‘हामी जनताकै सेवक भएर काम गर्ने छौं’ थापाले भन्नुभयो ‘तपाईहरुले दिएका राय, सल्लाह, सुझावलाई मैले सकारात्मक रुपमा लिएको छु ।’
थापाले नेपाली कांग्रेस र एमाले मुलुकका जिम्मेवार पार्टीहरु भएको चर्चा गर्दे दुबै पार्टी विकासका बाहक भएको बताउनुभयो । थापाले भन्नुभयो ‘तपाईहरुले दिएका सुझावहरुलाई मनन् गरेर आगामी नगर परिषदमा समेटने प्रयास गर्ने छु ।’


नेपाली कांग्रेस सूर्यविनायक नगर कार्य समितिका सभापति निशान ढुंगेलले आफूहरुले दिएका सुझाव र ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्ने बताएकोमा पार्टी र आफ्नो तर्फबाट धन्यवाद दिनुभयो ।
‘जनमुखी र जनतालाई सुखः दिने विकासका काममा सधै नेपाली काग्रेसको साथ र समर्थन रहने छ ’ढुंगेलले भन्नुभयो ‘आगामी नगर परिषदमा हामीले ध्यानाकर्षण पत्रमा दिएका सुझावहरुलाई विशेष ध्यान दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
ढुंगेलले नगरपालिका ‘शासक भन्दा जनताको सेवक’ बनेर अगाडि बढेमा सूर्यविनायक कांग्रेस हातमा हात मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा उपप्रमुख सरिता भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।