मध्यपुर थिमिका जनप्रतिनिधिहरुलाई उद्योग बाणिज्य संघको सम्मान

भक्तपुर, असार ३
मध्यपुर थिमि उद्योग बाणिज्य संघले मध्यपुर थिमि नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रवार बधाई तथा शुभकामना प्रदान गरेको छ । संघले निर्वाचित जनप्रतिनिधिहरूलाई नेवारी परम्परा अनुसार दही र अण्डा, माछा, रक्सीसहितको सगुनका साथै दोसल्ला ओढाई सम्मान समेत गरेको हो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सम्मानले जिम्मेवारी वोध गराएको भन्दै पाँच बर्षे कार्यकालमा विवादरहित विकास निर्माण कार्य र जनभावना अनुसार अघि बढ्ने बताउनुभयो । नगरसभाको तयारी भइरहेको जानकारी दिँदैं उहाँले विगतमा भएका राम्रा कार्यलाई निरन्तरता र नयाँ योजनाको तयारी भइरहेको बताउनुभयो ।
संघका सल्लाहकार एवं भक्तपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष प्रदिप श्रेष्ठले विगतको तुलनामा नयाँ प्रतिनिधिले विकासको गति बढाउनुपर्ने सुझाव दिँदैं हरेक वडामा उचित ढल, खानेपानी र जनताको समस्या समाधान गर्ने तर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरभित्रको घरेलु तथा साना र ठुलो उद्योग ब्यवसायहरूको संरक्षण गर्नेतर्फ नगरपालिकाले विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष विजय श्रेष्ठ, उपाध्यक्ष जगनाथ थापा श्रेष्ठ, सचिव जीवन श्रेष्ठलगायतले मध्यपुर थिमिको उद्योग र वाणिज्यको क्षेत्रमा सुब्यवस्था कायम गर्न, स्थानीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापारको विकास गर्न र देशको आर्थिक व्यवस्था दरिलो बनाई उद्योग व्यवसायको हक हितको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संघको स्थापना भएको बताउनुभयो ।