स्थानीय सरकार सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

हेटौंडा, जेठ ३१
बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षहरुका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा सोमवार शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघ, प्रदेश र स्थानीय सरकार जनमुखी हुनुपर्ने बताउनुभयो । उहाँले सबै स्थानीय तहले फोहरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले नेपालको संविधानले स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारसहित अधिकार सम्पन्न बनाएको बताउँदैं अधिकारसम्पन्न स्थानीय तहले विकासको गति पनि तीव्र हुने अपेक्षा गर्नुभयो ।
बागमती प्रदेशअन्तर्गतका १३ वटा अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गर्दै उहाँले यस प्रदेशले कृषि औजार कारखाना र रासायनिक मल कारखाना खोल्न आवश्यक तयारी गरिरहेको बताउनुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले स्थानीय तहहरुले आफ्नो ठाउँको फोहर व्यवस्थापन आफ्नै पालिकामा गर्नुपर्ने बताउनुभयो । उहाँले काठमाण्डौको फोहर धादिङमा कुनै पनि हालतमा राख्न नदिने उल्लेख गर्दै त्यहाँका जनताले फोहर फिर्ता पठाउनेसमेत बताउनुभयो । काठमाण्डौका मेयर उपमेयर उपस्थित उक्त कार्यक्रममा मन्त्री जमरकट्टेलले पटक पटक फोहर फाल्न नदिने बताउनु भएको थियो । बजेट निर्माण गर्दा विकासमा पछाडी परेका वडा र समुदायलाई प्राथमिकतामा राखी आफ्नो कार्ययोजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै प्रदेश स्वास्थ्य मन्त्री नीमा लामाले स्थानीय सरकार तीन तहको सरकारमध्ये नजिकको सरकार भएको बताउँदैं स्थानीय तहहरुले नमुना कार्यहरु सञ्चालन गरी आफ्नो स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाका सदस्य डा. खीमलाल देवकोटाले स्थानीय तहहरुले सन्तुलित र समृद्ध अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, प्रदेश सचिव स्किम श्रेष्ठ र यामलाल भुसालले पनि स्थानीय सरकार सञ्चालनका विशेषताहरुबारे आआफ्नो धारणा व्यक्त गर्नुभयो ।
अभिमुखीकरणको पहिलो दिन स्थानीय तहको काम, कर्तव्य र अधिकार तथा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध विषयमा कृष्णहरी बास्कोटा, स्थानीय तहको राजश्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण विषयमा यमलाल भुसाल, स्थानीय तहमा सार्वजनिक खरिद व्यवस्था विषयमा सुरेश प्रधान र बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड विषयमा पद्मकान्त मैनालीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशअन्तर्गत १३ वटाका ११९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।