सडनडेथमा पेरुलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकपमा

भक्तपुर, जेठ ३१
दक्षिण अमेरिकी राष्ट्र पेरुलाई सडनडेथमा पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ का लागि छनोट भएको छ । छनोटको अन्तरदेशिय प्लेअफमा अष्ट्रेलिया पेरुलाई सडनडेथमा ५–४ गोल अन्तरले पराजित गर्दै लगातार छैंटौं पटक विश्वकपका लागि छनोट भएको हो ।
अष्ट्रेलियाका लागि सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने । उनले सडनडेथको अन्तिम पेनाल्टी बचाए । उनले पेरुका एलेक्स भालेराको पेनाल्टीलाई रोक्दै अष्ट्रेलियालाई विश्वकपमा पु¥याए ।
कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेलमा पनि कुनै गोल गर्न नसकेपछि खेल टाईब्रकेरका लम्बिएको थियो ।
टाइब्रेकरमा अष्ट्रेलियाका मार्टिन बोएलको शुरुवाती पेनाल्टी गोल हुन सकेन । त्यसपछि आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गरे ।


पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गर्दा लुइस इडभिनकुलाले गोल गर्न नसकेपछि खेल सडनडेथमा पुगेको थियो ।
अष्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१औं टोली बनेको छ । अब कोस्टारिका र न्युजिल्यान्डमध्येबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछ । त्यसपछि विश्वकपमा छनोट हुने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ ।
विश्वकपमा छनोट हुन अष्ट्रेलियाले प्ले अफमा युनाइटेड अरब इमिरेट्सलाई पराजित गर्दै कन्टिनेन्टल प्ले अफमा पेरुसँगको भेट पक्का गरेको थियो । विश्वकपमा स्थान बनाएको अष्ट्रेलिया च्याम्पियन फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेको समूह ‘डी’ मा परेको छ ।