सिथी नखाः मनाउँदैं नेवार समुदाय

लक्ष्मी गारु, भक्तपुर, जेठ २२
जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका अवसरमा आज नेवा समूदायले सिथी नखाः मनाउँदैंछन । भगवान कुमारको जन्म दिन समेत भएकाले नेवार समूदायले कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने र साँझ पानीका स्रोत र मुहान सरसफाई गरी सिथी नखाः मनाउँछन ।
नेवार समुदायमा समय अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ । सिथी नखाः यस्तै पर्व मध्येको एक हो ।
सिथी नखाःको दिन नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । वर्षको अन्तिम चाडको रुपमा मनाईने यस पर्वसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाईं) शुरु हुने पर्वको रुपमा समेत यसलाई लिने गर्दछ ।
नेवार समुदायमा सिथी नखाःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । “पहिलो सिथी नखाः अर्थात कुमार षष्ठी महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताहरुका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन । कुमारको पुजा आराधना गर्नाले वर्षातको बेला धान रापाई जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ ।” श्रेष्ठले भन्नुभयो ।
दोस्रो यसपर्व सँगै नेवार समुदायमा रोपाईं शुरु भएको सन्देश दिने भएकाले किसानहरु कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाँती राखेर किसानहरु अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफुलाई तयार पार्ने चाडको रुपमा रहेकाले पनि यसको विशेष महत्व राख्ने गरेको उहाँको कथन रहेको छ ।


सिथी नखाःले परापुर्व कालदेखी पानीका मुहान सधैं सफा राख्नु पर्दछ, विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दुषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देश समेत दिने गरेको संस्कृतिकर्मी श्रेष्ठ बताउनुहुन्छ । त्यसैले नेवार समुदायमा आजको दिन पानीको मुहान सफा गर्ने प्रचलन समेत रहेको छ ।
वर्षको अन्तिम पर्वको रुपमा मनाईने यस चाडमा नेवार समुदायले विशेष गरि मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको छ । साथै भर्खरै गहुँ भित्र्याईने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटीहरु खाने चलन समेत रहेको छ । यस दिन बारा लगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न बल पुग्ने जनविश्वास रहँदै आएको छ ।
खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडको रुपमा समेत यसलाई लिन सकिने श्रेष्ठ बताउनुहुन्छ । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलन अनुरुप सिथी नखाःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुष्ट राख्न मद्दत पुग्ने भएकाले पनि आजको दिनमा बारा, चटामरी खाने प्रचलन चलेको उहाँको भनाई रहेको छ ।
यस दिन किसानहरुले खेत बारीमा काम गर्दैनन । एका बिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछ । त्यस पछि आफ्नो घर सफा गरि बारा लगायतका पकवान खाने चलन छ । यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने जनश्रुती रहेको पाईन्छ ।
सिथी नखाःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पुजागरि नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाईन्छ ।