रियल मेड्रिडले जित्यो किर्तिमानी १४ औं पटक च्याम्पियन्स लिग उपाधी

भक्तपुर, जेठ १५
युरोपियन च्याम्पियन्स लिगको उपाधी स्पेनी क्लव रियल मेड्रिडले जितेको छ । रियलले शनिवार राती सम्पन्न फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै कीर्तिमानी १४औं पल्ट उपाधी जितेको हो ।
पेरिसमा सम्पन्न फाइनलमा रियललाई उपाधी दिलाउन खेलको दोस्रो हापमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गोल गरे । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गरेको एक मात्र गोल नै खेलको निर्णाय गोल बन्यो र रियलले उपाधी चुम्न काफी रह्यो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा लिभरपुलले लगातार आक्रमण गरेपनि गोलमा परिणत गर्न नसक्दा उपाधी चुम्नबाट बञ्चित रहे । खेलमा लिभरपुलले कम्तिमा ९ पटक रियलको गोलपोष्टमा आक्रमण गरेको थियो तर रियलका गोलकिपर थिवाउट कोर्टुवाले बचाउँदैं टोलीलाई प्रतिष्पर्धामा यथावत राखेका थिए ।
खेलको १६औं मिनेटमा क्लोज रेन्जबाट मोहम्मद सलाहले गरेको प्रहारलाई रियलका गोलरक्षक कोर्टुवाले विफल पारे । २१औं मिनेटमा साडियो मानेले सुवर्ण अवसर खेर फाल्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।


पहिलो हापको अन्त्यतिर खेलको ४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा त्यस गोलले मान्यता पाउन सकेन । ५८औ मिनेटमा मोहम्मद सलाहको प्रयासलाई डेभिड अलाबा र गोलरक्षक कोर्टुवाले ब्लक गर्दै रियलको संकट टारे । लगत्तै काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नाेल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई अग्रता दिलाए ।

६४औं मिनेटमा सलाहको प्रयासमा कोर्टुवा नै बाधक बने । ६९औं मिनेटमा सलाहकै प्रयासमा पुनः कोर्टुवा नै खलनायक बने । ७९औं मिनेटमा सलाहको प्रहार डिफ्लेक्ट हुँदा डिएको जोटाले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा लिभरपुल बराबरी गर्नबाट रोकिएको थियो ।


रियलको यो किर्तिमानी १४ औं उपाधी हो । पछिल्लो पटक रियलले सन् २०१८ मा लिभरपुललाई हराउँदैं च्याम्पियन्स लिगको उपाधी जितेको थियो । लिभरपुल त्यतिबेला ३–१ ले पराजित भएको थियो । यसपटक लिभरपुल सोही हारको बदला लिने दाउमा थियो, तर रियलका गोलकिपर कोर्टुवाले विफल बनाए ।
पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । सन् २०१४ मा छिमेकी एट्लेटिको मड्रिडलाई हराउँदैं उपाधी जितेको रियलले त्यसपछि लगातार ह्याट्रिक उपाधि जित्न सफल भएको थियो ।
रियलसँगको हारसँगै लिभरपुल यो सिजन दुई उपाधीमा खुम्चिएको छ । यो सिजन चार उपाधी जित्ने संघारमा रहेको लिभरपुलले लिग कप र एफए कप जित्यो भने प्रिमियर लिग र च्याम्पियन्स लिग गुमाउन पुग्यो ।