कमजोर टिमोर लिस्टे बिरुद्ध नेपाल हारबाट जोगियो

भक्तपुर, जेठ १५
नेपाली राष्ट्रिय फुटबल टोली कमजोर टोली टिमोर लिस्टेको यु–२३ टोलीसँग हारबाट जोगिएको छ । एएफसी एसियन कप छनोटको तयारीका लागि कतार भ्रमणमा रहेको नेपाली टोली टिमोर लिस्टेको यु–२३ टोलीसँग २–२ गोल बराबरी खेल्दै हारबाट जोगिएको हो ।
कुवेत भ्रमणको लागि कतारमा रहेको नेपाली टोलीले दोहास्थित ग्राण्ड हमाद स्टेडियममा शनिबार राति भएको खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २–० ले पछि रहेको स्थितिबाट पुनरागमन गर्दै हारबाट जोगिएको हो ।
पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हापमा दुई गोल फर्काउँदैं हार जोगाएको हो ।
नेपालले खेलको ४४ औं मिनेटमा पहिलो गोल खाएको थियो भने पहिलो हापको इन्ज्युरी समयमा दोस्रो गोल खाएको थियो । खेलको ५१औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै नेपाललाई खेलमा फर्काए । ७२औं मिनेटमा नेपालले अर्काे गोल थप्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित ११ सिनियर खेलाडी बिना नेपाली टोली कुवेत भ्रमणमा निस्केको थियो । युवा खेलाडीले भरिएको नेपाली टोली कमजोर टिमोर लिस्टे विरुद्ध फितलो देखिएको थियो । टिमोर लिस्टे फिफा वरियतामा १९८ औं स्थानमा रहेको छ । नेपालले अर्को मैत्रीपूर्ण खेल जेठ २० मा ओमानसँग खेल्दैछ । यी दुवै खेललाई फिफाले अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता भने दिएको छैन । नेपाली टोली कतारबाटै एसियन कप छनोटका लागि कुवेत जानेछ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।