परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई अनुदान वितरण

भक्तपुर, चैत्र १५
भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले मंगलवार नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण हो ।
नगरपालिकाका अनुसार २६ जनालाई कूल ७९ लाख ८३ हजार ९२५ रुपैंया अनुदान वितरण गरिएको हो । नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड २०६०, तेस्रो संशाेधन अनुसार भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर तथा भवन निर्माण गर्न नगरबासीहरुको प्रोत्साहन स्वरुप घर तथा भवन निर्माण गर्ने क्रममा मोहडा तर्फ प्रयोग हुने काठ, ईटा र झिंगटी खरिदको लागि भक्तपुर नगरपालिकाले दिने अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार आ.व. २०७५/७६ देखि मापदण्ड अनुरुप घर निर्माण गर्ने नगरबासीहरुलाई लागेको खर्चमा ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।


नगरवासीलाई अनुदान वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नगरभित्र पराम्परागत शैलीमा घर निर्माण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदैं आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्फ उन्मुख हुँदै गएको बताउनुभयो ।
पुराना घरको संरचनाहरुमा प्राविधिक र वैज्ञानिक आधार रहेको बताउँदैं उहाँले परम्परागत, स्थानीय सामग्री तथा सीपको प्रयोग गरी पुरानै शैली र संरचनामा घर निर्माण गर्नेलाई नगरपालिकाले प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
“मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण हामी सबैको जिम्मेवारी हो । पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै नगरको कला संस्कृति, सम्पदा संरक्षण लगायत समग्र विकासमा अगाडि बढ्न नगरबासी र नगरपालिकाले हातेमालो गर्नुपर्छ,” उहाँले भन्नुभयो ।


बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरको सौन्दर्यकरणको लागि जनप्रतिनिधिहरु र जनताको एकता अपरिहार्य रहेको चर्चा गर्दै मौलिकताको पहिचान परम्परागतका साथसाथै वैज्ञानिकता पनि रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले भूकम्प अघि र पछि क्षति भएका नगरभित्रका ११८ भन्दा बढी सम्पदाहरु पुनःनिर्माण र संरक्षण गरेको उल्लेख गर्दै नक्सापास सम्बन्धी व्यवस्था र भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्बन्धी प्रगति विवरण जानकारी दिनुभयो ।


दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका कार्यालय प्रमुख अरुणा नकर्मीले विश्व सम्पदा क्षेत्रमा परेका सम्पदा क्षेत्रमा भवनहरु पराम्परात हुनुपर्नेमा जोड दिँदैं परम्परागत शैलीका घर निर्माणका फाइदाहरुको बारेमा चर्चा गर्नुभयो ।