जुनियर फुटसल प्रतियोगिताको फाइनल मंगलवार

भक्तपुर, चैत्र १४
नेशनल प्याव्सन अन्तर विद्यालय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिताको फाइनल मंगलवार हुने भएको छ । नेशनल प्याव्सन भक्तपुरले आयोजना गरेको प्रतियोगिताको सोमवार लिग चरणका खेल सकिएको जानकारी दिँदैं आयोजकले मंगलवार क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेल हुने जानकारी दिएको हो ।
प्रतियोगितामा समूह ‘ए’ बाट आरक्षण नेशनल एकेडेमी र मदरल्याण्ड स्कुल, समूह ‘बी’ बाट क्वालिटी स्कुल र पारागन एकेडेमी, समूह ‘सी’ बाट एसएस सदन र युनिटी स्कुल, समूह ‘डी’ बाट इडेन गार्डेन स्कुल र ग्लीटर फ्युचर स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका छन ।


प्रतियोगितामा नेशनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रहरुको टोली सहभागी रहेको प्रतियोगिता संयोजक सुमन शिल्पकारले बताए । प्रतियोगिताको उद्घाटन नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले गरेका थिए । प्रतियोगिताका विजयी टोलीलाई नेशनल प्याव्सनका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमालले पुरस्कृत गर्ने संयोजक शिल्पकारले जानकारी दिए ।