नेपाललाई पनि नाटोको सदस्य बनाउन खोज्यो – अध्यक्ष बिजुक्छें

भक्तपुर, चैत्र ४
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले अमेरिकाले नेपाललाई पनि नाटोको सदस्य बनाउन खोजेको बताउनुभएको छ ।
बागीश्वरी माविको ६३ औं र बागीश्वरी कलेजको १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले एमसीसी संसदबाट पारित भएसँगै नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउन खोजिएको बताउनुभएको हो ।
संसारका हरेक लडाइँ तथा युद्धहरूमा साम्राज्यवादी र पुँजीपतिहरूको हात हुने गरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले युक्रेनको अहिलेको अवस्था आउनुमा अमेरिकाको साम्राज्यवादी नीति नै जिम्मेवार भएको बताउनुभयो । उहाँले नेपालमा पनि अहिले पश्चिमा देशहरूको प्रभाव धेरै बढेको बताउँदैं यसले राष्ट्र र जनताको हित नहुने धारणा राख्नुभयो ।


उहाँले विद्यालयहरूले असल र २१ औं शताब्दीको निम्ति योग्य बौद्धिक शक्ति तयार गर्नुपर्नेमा जोड दिँदैं देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो । सो अवसरमा बिजुक्छेँले कलेजको स्मारिक र जर्नल समेत विमोचन गरेका थिए भने उत्कृष्ट विद्यार्थी, कर्मचारी र भ्वाइस अफ बागीश्वरीका विजेताहरूलाई सम्मान गर्नुभएको थियो ।
भक्तपुर नगरप्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामुदायिक र निजी विद्यालयहरूबीच आपसी प्रतिस्पर्धा, गुणस्तरमा समानता ल्याउने प्रयत्न गरिएको बताउँदैं शिक्षालाई स्तरीय बनाउन भक्तपुर नगरभित्र सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिकस्तरमा सुधारका प्रयासहरू भइरहेको जानकारी दिनुभयो ।


बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र बागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा बागीश्वरी मावि सञ्चालक समितिका अध्यक्ष रबिन्द्र ज्याख्व, बागीश्वरी प्लस टु का संयोजक ज्ञानसागर प्रजापति, बागेश्वरी कलेजका तर्फबाट त्रिविका उत्कृष्ट विद्यार्थी बबिता ग्वाछा, विद्यार्थीहरू सुनिता दाहाल, सुजी ह्योङ्ग्वजु, शिक्षक राजन लाखा र मंगलेश्वर ध्वजुले विद्यालय र कलेजका विविध पक्षबारे चर्चा गरेका थिए ।