यौन रसले भरिएको भक्तपुरको फागु पर्व

लक्ष्मी गारु, भक्तपुर, चैत्र ३
बसन्त ऋतुको आगमनसँगै रंग र खुसीको पर्वका रुपमा मनाईने फागु पर्व बिहिवार काठमाण्डौं उपत्यका लगायत नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाउँदैछन । तराई क्षेत्रमा भने शुक्रवार होली पर्वको नाममा फागु पर्व मनाउँदैछन ।
विजयको हर्षोल्लासको रुपमा एक आपसमा रंग दलेर खुसी साटासाट गरेर मनाईने यो पर्व भक्तपुरमा भने बेग्लै परम्परा र शैलीमा मनाईन्छ । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वको रुपमा प्रचलित फागुलाई भक्तपुरमा विशेषगरी यौन रसयुक्त गीत गाउने, स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पुजा गर्ने र बाजा गाजा सहित एक आपसमा अविर दलेर टोल छिमेक परिक्रमा गरी मनाउने गर्दछ ।
भक्तपुरमा फागु पर्वको शुरुवात नै अन्यत्र भन्दा भिन्न प्रकारले हुने गर्दछ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी चीर गाडेपछि फागु पर्व शुरु भएको मानिन्छ । तर भक्तपुरमा फागु पर्व शुरु भएको जनाउ दिन दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा रहेको पाटीमा पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई समागमको आकृतिमा राखेर प्रदर्शन गरिन्छ ।


सोही दिनदेखी सो पाटीमा भिमसेन गुठीका गायजुहरुले ‘भिमसेन देया लज्ज खङ लो वानला ! बिस्यूवाने म्वायक सो झायला !’ अर्थात ‘भिमसेनको लिंगले देखेर लोभियो कि ! भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि !’ बोलको यौनरस युक्त गीत गाउँदै बटुवाहरुलाई मनोरञ्जन दिने गर्दछ ।
तचपाल भिमसेन मन्दिरको पाटीमा समागमको आकृतिमा प्रर्दशनमा राखिएको पुरुष जननेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई द्धापर युगका भिमसेन र द्रौपदी समागमको रूपमा लिईन्छ । झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चार माध्यम नभएको त्यति बेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको प्रस्ट हुन्छ । शारीरिक सम्बन्ध राख्ने तरीका सबै मानिसले बुझुन् अनि यसलाई अश्लील र छाडा सिकाइको भान नपरोस् भनेर भीमसेन र द्रोपदीको समागमको रूपमा यौन शिक्षा दिइएको संस्कृतिकर्मीहरु बताउँछन ।
फागु पर्वलाई विशेषगरी नेवारी समुदायमा यौन र महिला लक्षित पर्वको रुपमा लिने गरिन्छ । फागुका परम्परागत लोकभाका र गितसंगीत पनि महिला र यौनसँग सम्बन्धीत रहेका छन ।
बसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुलहरु फुल्न थालेसँगै मानिसको मन मष्तिस्क समेतमा एक खालको तरंग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविदहरुको भनाई रहेको छ ।


बसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागुपर्वमा यौनरसयुक्त गित प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । “कृषि पेशामा संलग्न उपत्यकावासी बसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुसर्दमा मनोरञ्जनतर्फ आकृषित हुने तर तत्कालिन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीहरुको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरस युक्त संगित गुञ्जने गरेको हो,” धौभडेलले भन्नुभयो ।
फागुमा यौनरस युक्त गीत संगित गुञ्जने भएकै कारण कसै कसैले यस पर्वलाई अस्लिल पर्वको रुपमा चित्रण गर्ने प्रयास गरेको पाईएपनि फागुलाई विशुद्ध जिवन्त साँस्कृतिक पर्वको रुपमा लिनुपर्ने धौभडेलले बताउनुभयो ।
फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवा युवती, सबै जातजाती फागुको रंगमा रंगिने र सबैले खुसीको रंग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाड समेत भएको बताउनुभयो ।
यसैगरी अर्का संस्कृतिविद् एवम् ईतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचिनकालदेखी नै समाज पुरुष प्रधानको रुपमा विकास भएसँगै महिलालाई यौनको प्रतिकका रुपमा लिने र महिलालाई यौन चाहना पुरा गर्ने साधनको रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्षित गित संगित गुञ्जने गरेको बताउनुभयो ।
उहाँले फागु पर्वलाई प्रेम दिवसको रुपमा लिने प्रचलन भएकाले पनि फागुमा यौनरस र प्रेमरसका गित गाउने प्रचलन रहेको बताउनुभयो । फागु पूर्णिमाको दिन युवाहरू आफूले मन पराएको केटीको आँगनमा गई महिला लक्षित भाका हाल्छन् र गीतमार्फत प्रेम प्रस्ताव राख्छन् । त्यसरी राखेको प्रेम प्रस्ताव केटीले स्वीकार गरेमा अबिर गालामा दल्न दिन्छन् र मन नपराएमा टाढाबाटै अबिर छर्केर युवाहरू चित्त बुझाउँछन् ।
भक्तपुरको तचपाल टोलमा गाडिने चीर सँगै भिमसेनको लिङ्गको प्रतिक काठको लिङ्ग प्रदर्शनमा राखिनुले पनि फागु महिला केन्द्रीत पर्व भएको पुष्टि हुने श्रेष्ठले बताउनुभयो ।
फागु पूर्णिमाका दिन भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धुने र पुनः तचपाल भिमसेन मन्दिरमा पुर्याएपछि भक्तपुरमा फागु विधिवत रुपमा सम्पन्न हुन्छ । भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धोए छोरा जन्मिने जनविश्वास पनि छ । यही विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा नै हुने गर्छ । विशेषगरी वसन्त पञ्चमीदेखि होलीसम्म विवाहको लगन हुन्छ । यस अवधिमा नवविवाहितहरूलाई समागम गर्ने तरीका सिकाइ यौनउमङ्ग जगाउने र यौनाङ्ग सफा राख्नुपर्छ भन्ने शिक्षा संस्कृतिमार्फत दिन खोजेको देखिन्छ ।

युगौंदेखि मनाइँदै आएको फागुपर्वलाई अहिलेका युवा पुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागुपर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गी विरङ्गी रङ्ग एक आपसमा लगाएर वातावरणलाई नै रङ्गमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागुपर्वलाई युवापिढीले गरिने उत्श्रृङ्खल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वको रुपमा परिणत भएको संस्कृतिकर्मी धौभडेलले बताउनुभयो ।
फागुन शुक्ल पूर्णिमाका दिन रङको फागु खेलेपछि उक्त दिन साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तर र अमुखसहित पूजा गरेपछि नगर परिक्रमा गर्ने प्रचलन पनि छ । त्यस बेला बाटोमा रहेको देवीदेवतालाई तेलमा मुछेको अबिरको डल्लाले छरी साँझ परेपछि दत्तात्रय मन्दिर पु¥याउने प्रचलन रहिआएको छ ।