फागु पुर्णिमाको अवसरमा भिमेसन मन्दिरमा भक्तजनको घुईंचो

भक्तपुर, चैत्र ३
फागु पुर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरहरुमा दर्शनार्थीहरुको घुईंचो लागेको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पुर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन र पुजाका लागि भक्तजनहरुको घुर्इँचो लागेको हो ।
फागु पुर्णिमाको दिन भिमसेन देवताको विधिवत रुपमा पुजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोतहरु खुल्नुका साथै व्यापार व्यवसाय फस्ताउँदै जाने धार्मिक मान्यता रहेको छ । आजको दिन भिमसेन मन्दिरमा स्थानिय डाफा भजन खलः, व्यापारी संघ संस्था, पसलेहरु लगायतले बली सहितको पुजा चढाउँछन ।
आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेवाजा, बाँसुरी बाजा, धा“ बाजा, लगायतका टोलीहरु भिमसेन मन्दिर जाने गर्छन । देवताको पुजा अर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ । जसलाई स्थानिय भाषामा भिसिंङ पुजा भन्ने गरिन्छ ।
आजको दिन स्थानिय महिलाहरु हाकुपतासीमा सजिएर भिमसेन देवताको पुजा पछि सम्येबजी खाएर एक आपसमा अविर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ ।
भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरको पाटीमा प्रर्दशनीमा राखिएको काठको बडेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखे पछि यसवर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाईन्छ ।