फागुमा उत्श्रृंखल गतिविधि गरे कारवाही

भक्तपुर, चैत्र ३
साँंस्कृतिक पर्व होली मनाउने क्रममा उत्श्रृंखल गतिविधि गर्नेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । फागु पुर्णिमाको पुर्व सन्ध्यामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचना जारी गरी सभ्य, भव्य र सु–संस्कृत रुपमा फागु मनाउन आग्रह गर्दै उत्श्रृंखल गतिविधि गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिनुभएको हो ।
“भक्तपुर जिल्ला सांस्कृतिक, पुरातात्विक, तथा पर्यटकीय नगरीको रुपमा समेत विशिष्ट पहिचान भएको हुँदा होली मनाउँदा आ आफ्रनो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, संम्वद्र्धन गरी सभ्य भव्य र सु–संस्कृत रुपमा होली पर्व मनाउनु हुन जिल्लावासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” प्रजिअ शर्माले जारी सूचनामा उल्लेख छ ।
प्रजिअ शर्माले फागु पर्व मनाउँदा एक अर्काको इच्छा विपरीत फोहोर पानी वा केमिकल सहितको रंग दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, बाटोमा हिँड्ने व्यक्तिहरुलाई अनावश्यक दुःख हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने जस्ता कार्य गर्नेलाई कानून बमोजिम कारबाही हुने जनाएको छ ।
यसैगरी फागु पर्वमा हुन सक्ने उत्श्रृंखल गतिविधि नियन्त्रणका लागि महानगरिय प्रहरी परिसर भक्तपुरले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । फागु लक्षित सुरक्षा रणनीति लागु गर्दै परिसरले सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको जनाएको छ । त्यस्तै मादक पदार्थ सेवन गरी फागु मनाउने र मोटरसाइलकलगायतका सवारी साधनमा सवार भएर हिँड्ने गतिविधि नियन्त्रणका लागि सवारी जाँचलाई तिव्रता दिईने परिसरले जनाएको छ ।