विश्वकप क्रिकेट लिग–२, पिएनजीविरुद्ध नेपालको रोमाञ्चक जित

भक्तपुर, चैत्र २
विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध रोमाञ्चक जित निकालेको छ । युएईमा मंगलवार सम्पन्न खेलमा नेपालले ४ बल बाँकी छँदैं पिएनजीमाथि २ विकेटको जित निकालेको हो ।
खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । पिएनजीले पहिले व्याटिङ गर्दै नेपाललाई २०५ रनको लक्ष्य दिएको थियो । नेपालले ४ बल बाँकी छँदै ८ विकेट गुमाउँदैं नेपालले २११ रन बनाउँदैं जित हासिल गरेको हो ।
अन्तिम ओभरको दोस्रो बलमा करण केसीले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन । नेपाललाई अन्तिम ६ बलमा जितको लागि ५ रन चाहिएको थियो । पहिलो बलमा लेग वाइको रुपमा चौका प्राप्त गर्यो । दोस्रो बलमा करण केसीले छक्का प्रहार गर्दै नेपालको जित पक्का गराए । करण २५ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।
यसअघि नेपालका लागि रोहित पौडेल र आरिफ सेखले शतकिय साझेदारी गर्दै नेपाललाई जिततर्फ दो¥याएका थिए । दुबैले चौथो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । रोहितले ८२ बलमा ५८ रन जोडे भने ८६ बल खेलेका आरिफले २ चौकासहित ५४ रन जोडे ।
नेपालका ओपनर कुशल भुर्तेलले १ रनमै आउट भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ४, दीपेन्द्रसिंह ऐरी ८, आसिफ सेख १६ र विनोद भण्डारी १२ रनमा आउट भएका थिए । सोमपाल कामीले ७ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनायो । पीएनजीका कार्लोस एमिनीले ५९, चोद सोपरले ३५, टोनी उराले २७, नोर्मन भोनीले २३, असाद भालाले १९ र लागा साकीले २५ रन जोडे ।

नेपालका सोमपाल कामीले ३ तथा आरिफ सेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १–१ विकेट हात पारे ।
आईसीसी क्रिकेट विश्वकप लिग दुईमा ७ राष्ट्र रहेका छन् । ३६ खेलपछि शीर्ष ३ मा रहने टोली २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् ।