भक्तपुरमा सन्ध्याकालीन साँस्कृतिक पदयात्रा

भक्तपुर, चैत्र ४
भक्तपुर नगरपालिकामा साँस्कृतिक पदयात्राको विकासका लागि शुक्रवार सन्ध्याकालीन साँस्कृतिक पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित बारे पुखुबाट शुरु भएको सन्ध्याकालीन साँस्कृतिक पदयात्रा व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्र पुगेर टुंगिएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा शुरु भएको साँस्कृतिक पदयात्रा नवदुर्गा द्यो छेँ, चोफल, सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, तालाक्व, इछु, लायकू (दरबार क्षेत्र), खौमा, इन्द्रायणी हुँदै भक्तपुरको व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्रमा पुगेर समापन भएको थियो ।
पदयात्रामा धाँ बाजा, माक प्याखं र पछिमा बाजाको साँस्कृतिक टोली समेत हसभागी भएको थियो भने भक्तपुर नपाका जनप्रतिनिधि, भक्तपुर नपा र पर्यटक सूचना केन्द्रका कर्मचारीहरु, पर्यटक प्रहरी, पथ प्रदर्शक, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।


पदयात्राको समापन समारोहका अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भक्तपुर नगरपालिकाले पर्यटन उद्योग तथा व्यवसाय प्रवद्र्धन एवम् पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सञ्चालनमा ल्याएको पर्यटक सूचना केन्द्रको उद्घाटन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको भौगोलिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानहरुको विषयमा आवश्यक पर्ने सबै खालका सूचना उपलब्ध गराउन र भक्तपुरको पर्यटन उद्योगमा टेवा पुग्ने ढंगले पर्यटक सेवा केन्द्र सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिका नगरबासी जनताको साझा संस्था भएको बताउँदैं उहाँले भक्तपुरमा पर्यटकहरुको संख्या वृद्धिसँगै यहाँका स्थानीय जनताहरुको जीवनस्तरमा सुधार आउने, रोजगारीको अवसर सिर्जना हुने तथा पर्यटन व्यवसायीहरु यसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनुपर्नेमा जोड दिनुभयो ।


अध्यक्ष बिजुक्छेँले पर्यटन प्रवद्र्धन गर्न भक्तपुरको सरसफाईमा विशेष ध्यान दिनुपर्ने, पर्यटकहरुले आफूले घुमेको ठाउँको विषयमा देश—विदेशमा समेत प्रचारप्रसार गर्ने हुँदा पर्यटकहरुलाई सकारात्मक ढंगले आकर्षित गर्न सक्नुपर्ने सुझाव दिनुभयो ।
“भक्तपुरको मौलिकता कायम गर्नु नै यहाँको पहिचान गर्नु हो । पर्यटकहरुलाई राम्रो र असल व्यवहार मात्र गर्न सके पनि पर्यटकहरुमा सकारात्मक सन्देश जाने र सकारात्मक प्रभाव पार्नेछ,” उहाँले भन्नुभयो ।
भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले साँस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण यहाँका सम्पदाहरु मौलिक शैली र प्रविधि प्रयोग गरी पुनर्निर्माण गरिएको जानकारी दिँदैं विश्व सम्पदामा सूचीकृत यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई पहिलो प्राथमिकतामा राखी २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त अधिकांश सबै सम्पदाहरुको जीर्णोद्धार तथा पुनःनिर्माण समेत सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।


उपप्रमुख रजनी जोशीले बिजुक्छेंको ‘सय वर्ष पछिको भक्तपुर’लाई आधार मान्दै नगरपालिकाले सम्पदा संरक्षणका गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पर्यटक सूचना केन्द्र तथा सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवा, वडा नं. ५ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका सदस्य प्रेमगोपाल कर्माचार्यलगायतले पछिल्लो समयमा भक्तपुरमा आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेकोले पर्यटन व्यवसायले यहाँका जनताको जीवनस्तर उकास्ने विश्वास व्यक्त गर्नुभयो ।