लालपुर्जा पाएर मध्यपुर थिमिका स्वबासी जग्गाधनी दंग

भक्तपुर, चैत्र ५
संस्कृतिकर्मी तथा नेवारी कला संस्कृतिका ज्ञाता गणेशराम लाछी हाल मध्यपुर थिमि वडा नं. ३ गठ्ठाघरमा बस्दै आउनुभएको छ । उहाँको पुख्र्यौली थलो हो, मध्यपुर थिमि नगरपालिका वडा नं. ६, साविक वडा नं. ८ को चपाचो ।
चपाचोस्थित पुख्र्यौली घरमा उहाँले नेवारी संग्रहालय नै स्थापना गर्नुभएको थियो । उहाँको संग्रहालयमा नेवारी भान्छा तथा दैनिक प्रयोगमा आउने माटाका भाँडाकुँडा, नेवारी भेषभुषा, परम्परागत नृत्य तथा प्याखँहरुमा प्रयोग हुने पोशाक र गरगहना, नेवारी परम्परागत गरगहना, नेवारी गुठीगानामा प्रयोग हुने सामग्री, ढिकी जाँतो, ओखल, कपडा बुन्ने तान, नेवारी परम्परागत बाजागाजालगायतका सामग्री संग्रहित थिए ।
वि. सं. २०७२ सालको भूकम्पले सो घरमा पनि क्षती पुग्यो । घर जिर्ण भएपछि उहाँ गठ्ठाघरमा घर खरिद गरी बस्न थाल्नुभयो । उहाँले पुख्र्यौली थलो छाडेसँगै संग्रहालय पनि लथालिंग बनेको छ । उहाँले पुख्र्यौली घर पुनर्निमार्णगरी बस्ने चाहना नराख्नु भएको होइन, तर जग्गाधनी पुर्जा नभएका कारण नक्सा पास नहुने भएपछि उहाँको चाहना पुरा हुन सकेन ।
लाछी मात्र होइन मध्यपुर थिमिका हजारौं परिवारका पुख्र्यौली सम्पत्ति भएपनि जग्गाधनी पुर्जा (लालपुर्जा) विहिन हुँदा सम्पत्ति भएपनि एक प्रकारको सुकुम्बासी जस्तै थिए । लालपुर्जा नभएकै कारण भूकम्पले घर पूर्ण क्षती भएपनि लाभग्राहीको सुचीमा पर्न सकेको थिएन भने जिर्ण भएको घरलाई पुननिर्माण पनि गर्न पाएका थिएन । न त बिक्रि गर्न वा घरको आर्थिक समस्या समाधानका लागि कुनै बैंक तथा वित्तिय संस्थामा धितो नै राख्न पाएका थिए ।


वि. सं. २०२१ सालमा नापी आउँदा विविध कारण छुट भएका मध्यपुर थिमिका हजारौं परिवार मध्ये वडा नं. ६ र ७ साविक मध्यपुर थिमि वडा नं. ८ का ४ सय ५६ जनाले शुक्रवार लालपुर्जा पाएका छन । पुस्तौंदेखी बस्दै आएको तर विगतको नापीमा दर्ता छुट भएका स्वबासी जग्गाधनीहरुलाई नापी कार्यालय भक्तपुर र वडा नं. ६ कार्यालयको संयोजनमा लालपुर्जा वितरण गरेको हो ।
लालपुर्जा पाएपछि खुसी हुँदैं लाछीले भन्नुभयो, “ढिलै भएपनि पुर्जा पाईयो, पुख्यौली सम्पत्तिमाथि अधिकार स्थापित भएको अनुभुती भएको छ ।” आफ्नो पुख्र्यौली थलोको प्रमाण पुर्जा पाएपछि लाछी मात्र होइन मध्यपुर थिमि –६ का सयौं परिवार खुसीले दंग छन । वर्षौँदेखि भोगचलन गर्दै आएता पनि लालपूर्जा नहुँदा समस्यामा परेका स्थानीयवासीहरु लालपूर्जा पाएपछि रमाएका थिए । आफूहरुले अनेक प्रयास गर्दा पनि वर्षौँदेखि लालपूर्जा नपाएको भन्दै अधिकांशले अझैपनि लालपूर्जा पाएको सपना जस्तै लागिरहेको प्रतिक्रिया दिएका छन् ।
मध्यपुर थिमि–६ का अर्का स्थानीय हरीकृष्ण प्रजापतिले पुर्जा नभएर जनताले धेरै दुःख र समस्या भोग्दै आएको बताउनुभयो । “लालपुर्जा नभएर बालबच्चालाई शिक्षा दिन, घर निर्माण गर्न र व्यापार व्यवसाय गर्न जग्गा भएपनि नभए सरी बस्नु परेको तथा जग्गा भए पनि कुनै उपयोगमा नआइरहेको अवस्था थियो,” उहाँले भन्नुभयो, “लालपुर्जा पाएपछि धेरैका समस्या समाधान हुने भएको छ ।”


मध्यपुर थिमिमा वि. सं. २०२१ सालमा नापी आउँदा विविध कारणले धेरै स्थानमा नापी छुट भएको थियो । नापी कार्यालयले भक्तपुरमा हाल साविक गर्न तत्कालिन गाविसहरुमा नापीको टोली खटाउने क्रममा मध्यपुर थिमिका तत्कालिन गाविसहरुमा पनि टोली खटाएको थियो । सोही क्रममा वि. सं. २०५७ सालमा मध्यपुर थिमिका विभिन्न वडाहरुमा जग्गाको नापजाँच गरिएको थियो । जग्गा नापजाँचका क्रममा स्वबासी जग्गाको पनि नापजाँच भएपनि पुर्जा भने पाउन सकेका थिएन ।
स्थानीय तहमा लामो समय जनप्रतिनिधि विहिन हुनाले पनि स्थानीयले लालपुर्जा पाउन नसकेको वडा नं. ६ का वडाअध्यक्ष इन्द्रबहादुर प्रजापतिले बताउनुभयो । उहाँले आफुहरु निर्वाचित भएर पदबहाली गरेदेखी स्वबासी जग्गाधनीहरुलाई लालपुर्जा वितरणको प्रयास गरेपनि अहिले आएर साविक वडा नं. ८ का बासिन्दाले लालपुर्जा पाउन सफल भएको बताउनुभयो । “मध्यपुर थिमिका अन्य वडाका बासिन्दाहरुले लालपुर्जा पाउन सकेको छैन,” उहाँले भन्नुभयो, “त्यसको लागि पनि पहल भइरहेको छ । जसरी साविक वडा नं. ८ का बासिन्दाले पुर्जा पाए क्रमशः अन्य वडाबासीले पनि पाउनेछ ।”
स्वबासी जग्गाधनीहरुलाई लालपुर्जा दिलाउन अथक प्रयास र अभियान चलाएका नेकपा माओवादी केन्द्र मध्यपुर थिमिका अध्यक्ष विजय श्रेष्ठले लामो प्रयासका बाबजुद भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको विशेष पहलमा पुर्जा वितरण गर्न सफल भएको बताउनुभयो ।
“गत कार्तिकमा नेपाल संवतको कार्यक्रममा मन्त्री श्रेष्ठलाई अतिथीकोरुपमा थिमि बोलाएर यहाँको समस्या राखेको थिएँ,” उहाँले भन्नुभयो, “त्यसयता मन्त्रीले निरन्तर चासो र चिन्ता लिन थालेपछि अहिले लालपुर्जा वितरण गर्न सफल भयौं ।” उहाँले अझै पनि मध्यपुर थिमिका सयौं स्वबासी जग्गाधनी लालपुर्जा विहिन अवस्थामा रहेकाले उनीहरुलाई पनि छिट्टै लालपुर्जा वितरणको व्यवस्था गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
लालपुर्जा वितरण गर्दै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी आर्थिक वर्षसम्म गाउँ ब्लकमा रहेका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदैं जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको जानकारी दिँदैं बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको र त्यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । उपत्यका र विशेष गरी भक्तपुरमा रहेका स्वबासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया शुरु गरिसकेको उहाँले बताउनुभयो ।