वरिष्ठ जनस्वास्थ्य प्रशासक मिजार सम्मानित

भक्तपुर, चैत्र ५
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले ४२ औं जिल्ला सभाको अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारलाई सम्मान गरेको छ ।
कोभिड १९ को महामारीमा पनि क्षयरोग नियन्त्रण अभियानमा निरन्तर लाग्नुभएका मिजारलाई क्षयरोग नियन्त्रणमा पुर्याउनुभएको योगदानको कदर स्वरुप सम्मान गरेको संस्थाले जनाएको छ ।
मिजारलाई बागमती प्रदेशका भौतिक, योजना तथा पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले दोसला ओढाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । सो अवसरमा मन्त्री भँडेलले रोग लागेपछि उपचारमा लाखौं खर्च गर्नुभन्दा रोग लाग्नै नदिन तर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले क्षयरोग लुकाउन हुन्न, उपचार गरे निको हुन्छ भन्ने सन्देश जनजनमा पुर्याउनुपर्ने खाँचो रहेको औंल्याउँदैं क्षयरोग निवारण संस्थाले भक्तपुरका क्षयरोग नियन्त्रणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
सम्मानित मिजारले सधैं क्षयरोग नियन्त्रण अभियान लाग्ने र हरहमेसा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य महेन्द्रगोपाल कर्माचार्य, पूर्व महासचिव धनमान श्रेष्ठ, केन्द्रीय अध्यक्ष मदनकाजी श्रेष्ठले नेपालमा क्षयरोगको अवस्था र यसको नियन्त्रणको चुनौतिका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सचिव सुमन श्रेष्ठ र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आ.व. २०७७÷७८ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७८÷७९ को कार्ययोजना सो सभाबाट सर्वसम्मत पारित गरेको थियो ।