वरिष्ठ पत्रकार राणा कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा मनोनित

भक्तपुर, फागुन २४
नेपाली कांग्रेस भक्तपुरका नेता एवम् वरिष्ठ पत्रकार कविर राणालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १२ को उप–धारा ५ (ख) २ बमोजिम राणालाई जिल्ला सदस्यमा मनोनयन गर्नुभएको हो । राणाको मनोनयन मंगलवार बसेको जिल्ला कार्यसमितिको बैठकले अनुमोदन समेत गरेको जिल्ला सचिव सुशिल बस्नेतले बताउनुभयो ।

यसैगरी बैठकले पार्टीको संगठन सुदृढीकरण गर्दै स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान पुर्ण रूपमा सफल गर्न जिल्लाका नेता तथा मातहतका सबै कार्यसमिति, भातृ संघ एवम् शुभेच्छुक संघलाई परिचालन गर्ने र अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै बैठकले वडा कार्यसमिति अन्तर्गत गठन गर्न बाँकी टोल समिति र कार्यालय ब्यवस्थापन यही फागुन मसान्तसम्म गर्न मातहतका समितिहरुलाई निर्देशन समेत दिएको सचिव बस्नेतले बताउनुभयो ।
बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु, पुर्व जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, प्रदेश सभापति, नगर सभापतिको उपस्थिती रहेको थियो ।