भक्तपुरमा पछिमा बाजा प्रतियोगिता हुने

भक्तपुर, फागुन २५
भक्तपुरमा नेवारी साँस्कृतिक बाजा पछिमा प्रतियोगिता हुने भएको छ । साँस्कृतिक विधाहरुको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकहरुमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले यही फागुन २७ गते पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता दरवारस्क्वायरमा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, तँ १ थान, बाँसुरी ४ थान, द्वितीय हुनेले नगर १५ हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, तँ १ थान पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी तृतीय हुनेले नगद १० हजार, पछिमा १ थान, सिछ्या १ थान, सान्त्वना पुरस्कार नगद ५ हजारका साथै पछिमा १ थान र सहभागी सबै टोलीलाई पछिमा बाजा १÷१ थान प्रदान गरिने वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो ।
सांस्कृतिक प्रतियोगिताहरुले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिमा बाजा प्रतियोगिता गर्न लागेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।