सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिरको पुनर्निमाण सम्पन्न

भक्तपुर, फागुन २४
भक्तपुर नगरपालिका वडा नं. १, सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिरको पुनर्निमाण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले उक्त मन्दिरको पुनर्निमाण सम्पन्न गरेको हो ।
मन्दिर पुनर्निर्माणका लागि ३७ लाख ४४ हजार ६०४ रुपैयाँ खर्च भएको मुपुज्व टोल सुधार समितिका सचिव कृष्णगोविन्द मुलगुठीले जानकारी दिनुभयो । सचिव मुलगुठीले मन्दिर निर्माणको आय व्यय प्रस्तुत गर्दै मन्दिर निर्माणमा जम्मा रु. ३७ लाख ४४ हजार ६०४ रुपैयाँ खर्च भएकोमा विभिन्न संघ संस्था र चन्दादाताहरुबाट २६ लाख ६७ हजार ३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको जानकारी दिनुभयो । उहाँले मन्दिर पुनःनिर्माणमा १० हजार रुपैंया भन्दा माथिको सहयोग गर्ने संघ, संस्था तथा दाताहरुको नाम शिलापत्रमा उल्लेख गरेको बताउनुभयो ।
सो मन्दिरको मंगलवार उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुनःनिर्माण तथा जीर्णोद्धार भएका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको निरन्तर संरक्षण र मर्मत सम्भार गर्नुपर्ने आवश्यकता औंल्यानुभयो ।
निर्वाचित जनप्रतिनिधिहरु इमानदार भए देश र समाज निर्माणमा टेवा पुग्ने बताउँदैं उहाँले भक्तपुर नगरको विकास निर्माणमा जनताको साथ र सहयोगले थप हौसला प्रदान गर्नुका साथै चौतर्फी विकास निर्माणमा मद्धत पुगेको छ, भन्नुभयो । प्रमुख प्रजापतिले नपाले उपभोक्ता समितिमार्फत पुरानो प्रविधि प्रयोग गरी मौलिक शैलीमा यहाँका सम्पदाहरुलाई पुनःजीवन दिने काम गरिरहेको बताउनुभयो ।


वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुरको सल्लाघारीमा अवस्थित रानीपोखरी सर्वसाधारणको निम्ति खुल्ला भएको, भाजुपोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेको र नःपली सिर्जना नगरको इसानेश्वर मन्दिर मौलिक शैलीमै निर्माण गर्ने तयारीमा जुटेको बताउनुभयो ।
इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरु जीर्णोद्धार र पुनःनिर्माणमा भक्तपुर नपासँग सहकार्य गरी काम गर्ने अवसर मिलेकोमा गौरवान्वित महसुस भएको बताउनुभयो ।
कार्यक्रममा च्वङा गणेश विकास संस्थाका अध्यक्ष लक्ष्मीनारायण राजलवट, वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ, मुपुज्व टोल सुधार समितिका अध्यक्ष शारदाभक्त वैद्य, समितिका उपाध्यक्ष रामलक्ष्मी राजलवट र सहसचिव कृष्ण गारुले सम्पदाहरुको संरक्षणका लागि सदैव हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो ।