परालले छोपेको अवस्था महिलाको शव फेला

भक्तपुर, फागुन २३
भक्तपुरको बागेश्वरीमा परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका–६ बागेश्वरीस्थित तरकारी खेती हुँदैं आइरहेको जग्गामा निर्माण गरिएको टिनको कच्ची टहराभित्र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ९ की जेनिशा नगरकोटीको शव हत्या गरेर राखेको अवस्थामा सोमवार राती फेला परेको हो ।
मृतक नगरकोटीको घाँटी अगाडिको भागमा गहिरो चोटका साथै शरिरको अन्य भागहरुमा समेत काटेको चोटहरु रहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो । शव अर्धनग्न अवस्थामा फेला परेको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना आइतवार बिहानको समयमा भएको खुल्न आएको छ । प्रहरी स्रोतका अनुसारमा घटनामा संलग्नको पहिचान समेत खुलिसकेको छ ।
मृतकको शव पोष्टमार्तमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । पोष्टमार्तमको रिपोर्ट आएपछि मात्र घटनाको बारेमा विस्तृत विवरण आउन सक्ने प्रनाउ पाण्डेले बताउनुभयो । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको आशंका गरेपनि पोष्टमार्तमको रिपोर्ट नआई भन्न सकिने अवस्था नरहेको प्रनाउ पाण्डेले बताउनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।