श्रेष्ठ र ढकाल केन्द्रीय सदस्यमा मनोनित, माओवादी केन्द्र भक्तपुरको नेतृत्व परिवर्तन हुने

भक्तपुर, फागुन २४
भक्तपुरका दुई नेता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा मनोनित भएसँगै भक्तपुरमा नेतृत्व परिवर्तन हुने भएको छ । भक्तपुरमा लामो समयदेखी पार्टीको नेतृत्व गरेका नेता डि पि ढकाल र देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ केन्द्रीय सदस्य चयन भएपछि जिल्लामा नेतृत्व परिवर्तन भएको हो ।
नेकपा (माओवादी केन्द्र)को काठमाण्डौंमा जारी केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य थप गर्दा भक्तपुरका दुई शिर्ष नेताहरु समेत समेटिएका हुन । श्रेष्ठ जनजाति पुरुषको कोटामा केन्द्रीय सदस्य मनोनित भएका हुन भने ढकाललाई खस आर्य युवाको कोटाबाट केन्द्रीय सदस्य प्रस्ताव गरिएको हो ।
भक्तपुरवाट श्रेष्ठ र ढकाल थपिए संगै जिल्लामा माओवादी केन्द्रीय सदस्यको संख्या ४ पुगेको छ । यसअघि जिल्ला इन्चार्ज दिलिप प्रजापति ‘भिष्म’ र बागमती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ ‘उर्मिला’ महाधिवेशनबाटै केन्द्रीय समितिमा पर्न सफल भएका थिए ।


यसैबीच नेकपा (माओवादी केन्द्र) भक्तपुरको नेतृत्व परिवर्तन हुने भएको छ । जिल्ला समन्वय समितिका संयोजक डि पि ढकाल केन्द्रीय सदस्यमा चयन भएसँगै भक्तपुरमा पार्टीको नेतृत्व परिवर्तन हुन लागेको हो ।
स्रोतका अनुसार नेकपा माओवादी केन्द्र भक्तपुरको संयोजकमा नेता सुनिल बासु चयन हुने भएको छ । यसैगरी संयोजकमा दावी गर्दै आएका अर्का नेता जीवन तजलाई सचिवको जिम्मेवारी दिने भएको छ ।