गुण्डुमा नीजि होटलको कम्पाउण्डमा वडाको खानेपानीको बोरिङ

भक्तपुर, फागुन २३
सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुले प्रदेश सरकारको बजेटबाट नीजि होटलको कम्पाउण्डमा खोनेपानीको बोरिङ गर्ने तयारी गरेको छ । स्थानीयलाई जानकारी नदिई वडाले गुपचुपरुपमा उपभोक्ता समिति गठन गरी वडा नं. ७ को साविक गुण्डु गाविसको वडा नं. १ र २ को सिमाना पोखरी थुम्कोमा रहेको होटल माउण्ट मनास्लुको परिसर भित्र डिप बोरिङ गर्न लागेको स्थानीयले आरोप लगाएका छन ।
वडा कार्यालयले सो शान्तिकोट घ्याम्पेडाँडा खानेपानी आयोजनाको लागि ३० लाख रुपैंया बजेट विनियोजन गरेको छ । योजना कार्यान्वयनका लागि घ्याम्पेडाँडा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेको छ ।
वडा कार्यालयले स्थानियको सहमति बिना गोप्य तरिकाले उपभोक्ता समिति गठन गरी नीजि होटलको कम्पाउण्डमा बोरिङ गर्न लागेको स्थानीय जगदिश बस्नेतले बताउनुभयो । “स्थानिय जनतालाई योजनाको बिषयमा कुनै किसिमको जानकारी नदिई उपभोक्ता समिति निर्माण गरिएको छ,” बस्नेतले भन्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले वन सँगको विवादका कारण होटलको कम्पाउन्डमा नै पानीको बोरिङ गर्न लागेको बताउनुभयो । “महालक्ष्मी नगरपालिका नजिक रहेको उक्त स्थानमा वनसँगको विवादका कारण जमिन पाउन नसक्दा होटलले समूदायलाई पानी वितरण गर्न जग्गा दिन तयार भएपछि उक्त स्थानमा बोरिङ गर्न लागेको हो,” उहाँले भन्नुभयो ।
उक्त बोरिङ सम्पन्न गरी खानेपानीको पुरानो लाइनमा मात्र जोड्न सकेपनि गुण्डुमा एक घर एक धारा अवधारणा सफल हुने उहाँले बताउनुभयो । गुण्डुको माथिल्लो भेग साथै दक्षिणतर्फ फर्केको स्थानमा पानी कम आउने र पानीको हाहाकार भएका कारण वागमती प्रदेश सरकारको सहयोगमा नै उक्त स्थानमा खानेपानीको बारिङ कार्य गरिएको उहाँले जानकारी दिनुभयो ।