कटुञ्जेमा आयोजित स्वास्थ्य शिविरमा २ सयको मुटु कलेजो परीक्षण

भक्तपुर, फागुन २३
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले वडा नं. ५ कटुञ्जेमा सोमवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन । शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको सहकार्य र प्राविधिक सहयोगमा आयोजित शिविरमा २ सय जनाले मुटु तथा कलेजो परीक्षण गराएका हुन ।
शिविरमा नगर समिति सदस्य डा. सुशिल राज केसी र केन्द्रका डा. गौरव पन्त तथा किसन कुमार कुस्वाहको नेतृत्वमा डा. पारस कोइराला, डा. वि एन खत्री, डा. गोपाल सुवाल, डा. सञ्जिव कुमार साह तथा स्वास्थ्यकर्मीहरु निरु सुवाल, सोनिया गिरी, विकास वाडे, अच्युत केसीलगायतले स्वास्थ्य परीक्षण गरेको थियो ।
शिविरमा निःशुल्करुपमा भिडियो एक्सरे, ईसिजी, ईको गरिएको नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका प्रवक्ता रमेश खड्काले बताउनुभयो ।


बढदो वातावरणिय प्रदुर्षण तथा खानपानका कारण हाल अत्याधिक रुपमा गम्भिर प्रकृतिका नसर्ने रोगको प्रकोप बढेकोले जनस्वास्थ्यलाई मध्यनजर गदै पार्टीले निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगरसभापति निशान ढुंगेलले बताउनुभयो ।
“समयमा रोग पत्ता नलाग्दा सर्वसाधारणले धेरै समस्या भोग्नु पर्ने, समय पैसा र ज्यानको समेत जोखिम हुने भएकाले रोग भए छिटै पत्ता लागोस भनी आफूहरुले शिविरको आयोजना गरेका हौं,” उहाँले भन्नुभयो ।


शिविरको शुभारम्भ गर्दै वागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले जनताको स्वास्थ्य समस्याप्रति पार्टीले जिम्मेवार भएर स्वास्थ्य शिविर सञ्चालन गर्नु सहनीय कार्य भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टीले राजनीति र विकासका कुराहरु मात्र गरेर भन्दा स्वास्थ्य शिविर जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु पनि सञ्चालन गर्न सके जनतासँग प्रत्यक्षरुपमा पार्टीको सहकार्य र समन्वय हुनेमा जोड दिनुभयो ।