बोडेमा वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिता हुने

भक्तपुर, फागुन १२
मध्यपुर थिमिको बोडेमा सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिता हुने भएको छ । मध्यपुर सितेरियो कराते डोजोले पहिलो पटक काठमाण्डौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिता गर्ने भएको हो ।
मध्यपुर थिमि नगरपालिका वडा नम्वर ९ को सहयोगमा हुने प्रतियोगिता यही फागुन १९ र २० गते दुई दिन सञ्चालन हुने प्रतियोगिता संयोजक कालुराम धेकेले जानकारी दिए । उक्त प्रतियोगितामा भक्तपुर, काठमाण्डौं, ललितपुर र काभ्रेका गरी करिव ५ सय खेलाडी सहभागी हुने उनले बताए ।
प्रतियोगिताको करातेतर्फ २० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरि १९ समूहमा स्पर्धा हुनेछ । त्यस्तै किक् बक्सिङमा पुरुषतर्फ ४५, ५०, ५५ केजी तौल समूह र महिलातर्फ पनि ४०, ४५ र ५० केजी तौल समुहमा प्रतिष्पर्धा हुनेछ । कातातर्फ महिला र पुरुष सिंगल्समा प्रतिष्पर्धा हुने संयोजक धेकेले जानकारी दिए ।
प्रतियोगिता डब्लु के एफको नियम अनुसार खेलाईने प्रशिक्षक रामशरण त्वातीले जानकारी दिए । प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न वडाले आवश्यक सहयोग गर्ने वडा सदस्य गोकुल खड्काले बताए ।