आयोजकलाई पराजित गर्दै भक्तपुर एफसीले जित्यो भक्तपुर कप

भक्तपुर, फागुन १५
भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी)ले आयोजक भक्तपुर युवा टिमलाई पराजित गर्दै भक्तपुर कपको उपाधी जितेको छ । भक्तपुरको महेश्वरी खेल मैदानमा शनिवार सम्पन्न फाइनलमा भक्तपुर एफसीले आयोजक भक्तपुर टिमलाई पेनाल्टीमा ३ १ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।
उपाधिसँगै भक्तपुर एफसीले लक्ष्मण अवाल र प्रविण कुस्माले प्रायोजन गरेको १ लाख १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाए । दोस्रो भएको आयोजक भक्तपुुर युवा टिमले शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडले प्रायोजन गरेको ५५ हजार नगद प्राप्त गरे ।
निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा भक्तपुर एफसीका दीपेन्द्र माझी, अजय चौधरी र उदिप्त चौधरीले गरे भने आयोजकका सुजन गोसाईले मात्र गोल गर्न सफल भए ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फको उत्कृष्टमा विजेता भक्तपुर एफसीको वर्चश्व रह्यो । प्रतियोगितामा भक्तपुर एफसीका जानमी धामी उदियमान, म्यान अफ दि म्याच रुविन बोगटी, उत्कृष्ट गोलकिपर रविन बोगटी, उत्कृष्ट प्रशिक्षक रवि कवां घोषित भए । त्यसैगरी भक्तपुर युवा टिमका विकास लामा उत्कृष्ट मिडफिल्डर, किशोर सुवाल उत्कृष्ट खेलाडी र सविन खड्का उत्कृष्ट रक्षक घोषित भए । प्रतियोगिताको अनुशासित टोली एफसी रेले घोषित भए ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई सांसद प्रेम सुवालले पुरस्कार वितरण गरे । यही फागुन ६ गते शुरु भएको प्रतियोगितामा काठमाण्डौं उपत्यकाका तीन जिल्ला र काभ्रेका गरी कुल १६ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताका लागि भक्तपुर ईंटा उद्योग व्यवसायी संघ, भक्तपुर ट्रक व्यवसाय प्रालि, भक्तपुर नगरपालिका, ख्वप अस्पताल, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीएस ऐग टाइ, गोर्खा इको प्यानललगायतले सहयोग गरेको आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए ।