नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने

भक्तपुर, फागुन १६
नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले यही फागुन १९ गते हुने नगर सम्मेलन गर्न लागेको हो । नेपाली कांग्रेसको विधानमा प्रत्येक वर्ष नगर सम्मेलन गर्नुपर्ने व्यवस्था गरे बमोजिम मध्यपुर थिमिले सम्मेलन गर्न लागेको हो ।
सम्मेलनको उद्घाटन वडा नं. ४ बालकुमारीमा हुनेछ भने बन्दसत्र वडा नं. ६ स्थित मध्यपुर बैंक्वेटमा हुने नगरसचिव राम थापा मगरले जानकारी दिनुभयो ।
सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका ९ वटै वडाका क्षेत्रीय प्रतिनिधि, वडा समितिका पदाधिकारी, नगरसमितिका पदाधिकारी र कार्यसमिति सदस्यहरुलगायतको सहभागिता रहनेछ ।
सम्मेलनमा पार्टी संगठन बिस्तारको कार्य दिशा निर्धारण, आगामी चुनावी रणनीति, भातृ तथा शुभेच्छुक संगठन बिस्तार, भावी कार्यक्रम तर्जुमा, निष्क्रिय बसेका पार्टीका पुराना अग्रज नेता कार्यकर्ताहरुलाई चलायमान बनाउने विषयमा वडागत समूह गठन गरी आवश्यक छलफल, बहश गरी आवश्यक निर्णयसहित घोषणापत्र जारी गरी कार्यान्वयन लगिने नगरसभापति हरिदास प्रजापतिले बताउनुभयो ।
सम्मेलनमा प्रत्येक वडाले लिखितरुपमा प्रस्ताव लाने र ती प्रस्तावमा व्यापक छलफल गरी राय सुझावसहित पारित गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको छ । सम्मेलनले मध्यपुर थिमि नगरपालिकाको पाँच वर्षे कार्यकालको समेत समिक्षा गर्ने सभापति प्रजापतिले बताउनुभयो । “सम्मेलनमा कांग्रेसकातर्फबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरुको पाँच वर्षे कार्य मूल्यांकन गरी छलफल समेत गरिनेछ,” उहाँले भन्नुभयो ।