लेखक कायस्थको ‘झुक्न नजानेका राष्ट्रवादी नेता बी.पी’ सार्वजनिक

भक्तपुर, फागुन ७
७२ औं प्रजातन्त्र दिवसको अवसरमा वरिष्ठ साहित्यकार, लेखक एवम् राजनीतिज्ञ तिलकप्रकाश कायष्थको नयाँ पुस्तक विमोचन भएको छ । ८७ वर्षको उमेरमा पनि दैनिक १० घण्टा भन्दा बढि अध्ययन र लेखनमा सक्रिय कायष्थको झुक्न नजानेका राष्ट्रवादी नेता बी.पी कोइराला नामको पुस्तक शनिवार भक्तपुरमा विमोचन भएको हो ।
बी.पी कोइरालाका विभिन्न पाटाहरु समेटेर उक्त पुस्तक प्रकाशन गरिएको लेखक कायस्थले जानकारी दिनुभयो । पुस्तकमा भारत र नेपालको बिचको सम्वन्ध र बी.पीको विषय समेटिएको छ । भारतबाट कसरी नेपाली राजनेताहरु प्रताडित हुनु परेको छ र भारतको नेपाल प्रतिको दृष्टीकोण समेत पुस्तकमा समेटिएको छ ।
“बी.पीको विषय र नेपाल भारतको सम्वन्ध जुन आज सम्म पनि थिचोमिचोमा नै रहेको छ । उक्त समयमा नेपालप्रतिको भारतको दृष्टीकोण बी.पीलाई भारतले किन लखेटे र हालसम्म नेपालका नेतालाई किन भारतले लखेट्छन त भन्ने विषयमा धेरै कुरा पुस्तकमा समेट्न खोजेको छु, उहाँले भन्नुभयो ।
दरवार, भारत र नेपालमा प्रजातन्त्रको लागि लड्नेहरुकोविचको सम्वन्ध एवं भारतले उक्त समयदेखि नै किन नेपाललाई आफ्नो अधिनमा राख्न खोज्यो भन्ने विषयमा पनि यस पुस्तकमा धेरै कुरा समेट्न खोजेको लेखक कायस्थले बताउनुभयो ।
पुस्तक साहित्यकार बलदेब बजगाई, सुर्वण स्मृति प्रतिष्ठानका अध्यक्ष उद्धव ढुंगाना, पूर्व सांसद लेखनाथ न्यौपानेलगायतले संयुक्तरुपमा विमोचन गरिएको हो ।
सो अवसरमा साहित्यकार बजगाईंले भारतको नेपालनीति पुस्तकले समेट्न सकेको बताउनुभयो । उहाँले नेपाललाई भारतले कसरी किन आफ्नो अधिनमा राख्न खोज्ने, चीनसँगको सम्वन्ध र भारतको सम्वन्धमा यस पुस्तकमा ठूलो समिक्षा गर्न खोजिएको छ, उहाँले भन्नुभयो ।
नेपाल साहित्य मन्दिरका अध्यक्ष अगिव बनेपालीले प्रजातान्त्रिक समाजवादका अभियन्ता बी.पीको विषय तर नेपालको सार्वभौमसत्ता एवं नेपालको विभिन्न घटना क्रम जसका कारण देश विकास हुन नसकेका विषयलाई पुस्तकमा सुक्ष्मरुपमा विश्लेषण गर्न खोजिएको बताउनुभयो ।
सुर्वण स्मृति प्रतिष्ठानका अध्यक्ष मदन ढुंगानाले अध्ययन र खोजका आधारमा प्रकाशित भएको पुस्तक नयाँ पुस्ताका लागि नेपालको विषयमा अध्ययन गर्ने राम्रो विषय वस्तु भएको बताउनुभयो ।
वाम विष्लेशक एवं साहित्यकार ओम चरण अमात्यले पछिल्लो समयमा नेपाललाई भारतमा गाभ्न भारतीयहरु लागि परेको समयमा बी.पी लगाएतका नेताहरुले कस्तो भुमिका निभाए भन्ने विषयमा चर्चा गर्नुभएको थियो ।
विराट भाषा साहित्य तमुज्याका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्य, राजनीतिज्ञ एवं भक्तपुर क्षेत्र नम्वर २ का पूर्व सांसद लेखनाथ न्यौपानेलगायतले लेखक कायस्थको अध्ययन र लेखनको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा तिशा ट्रस्टको विषयमा ट्रस्टका सदस्य प्रसान्त कायस्थ र रञ्जन कायस्थले जानकारी दिएका थिए ।