एउटै गिद्ध बस्दा अशुभ मानिन्छ, यहाँ त पाँच गिद्ध बसेका छन – अध्यक्ष ओली

भक्तपुर, फागुन ७
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीले पाँच दलिय गठबन्धनका नेताहरुलाई गिद्धको संज्ञा दिनुभएको छ । भक्तपुरको जगातीमा आयोजित सूर्यविनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा ओलीले घरको धुरीमा एक गिद्ध बस्दा अशुभ मान्ने मुलुकमा पाँच गिद्ध बसेको भन्दै पाँच दलिय गठबन्धनलाई गिद्धको संज्ञा दिनुभएको हो ।
“धुरीमा गिद्ध बस्यो भने अशुभ मानिन्छ । एउटै गिद्ध बस्दा त अशुभ मानिन्छ, पाँच पाँच वटा गिद्ध बस्दा के हुन्छ ?”, उहाँले भन्नुभयो । उहाँले पाँच दलिय गठबन्धनले विकास निर्माणका काम गर्नुभन्दा आफ्नो सरकारले प्रस्ताव गरेका विकास निर्माणका योजना काट्ने काम मात्र गरेको आरोप लगाउनुभयो । “गठबन्धनले विकासका कुनै काम गर्न सकेको छैन । हामी सरकारमा हुँदा प्रस्ताव गरेका सडकका योजना काटेको छ । उता पुलका योजना काटेको छ । बजेट काटेको छ । जे गरेको छ खाली काट्ने र हटाउने काम मात्र गरेको छ,” उहाँले भन्नुभयो ।
ओलीले गठबन्धनको आयु बढीमा एक वर्षको रहेको टिप्पणी गर्दै त्यसपछि नेकपा एमालेले सरकार बनाउने दिन आउने बताउनुभयो । “लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ । पाँच पाँच वर्षमा निर्वाचन हुने व्यवस्था छ । मैले साढे तीन वर्ष सरकार चलाएर छोडिदिएँ । यो गठबन्धन बनेको ६ महिना बिति सकेको छ । अबको एक वर्षमा निर्वाचन हुन्छ । त्यसपछि….,” उहाँले भन्नुभयो, “ संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ, बढीमा एक वर्ष हो, आयु यो सरकारको ।”
उहाँले गठबन्धनलाई पानीमुनी गएपनि नछाड्ने बताउनुभयो । रामायणमा रामलाई अनेक षडयन्त्र गरेर १४ वर्ष वनवास जान बाध्य पारेको स्मरण गराउँदैं ओलीले आफुलाई पनि त्यस्तै षडयन्त्र गरेर सत्ताबाट हटाएको आरोप लगाउनुभयो । “रामायणमा एक जना कैकयीले रामलाई १४ वर्ष वनवास पठाए । यहाँ त यति धेरै कैकयी, मन्थरा र सकुनीहरु छन,” उहाँले भन्नुभयो ।
उहाँले अनेक गरेर पनि नसकेपछि अन्तिममा सर्वोच्च अदालतको सहारामा आफुलाई सत्ताच्युत गरेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले सत्ताको लागि सरकारमा जाने नभई जनताको काम गर्नको लागि सरकारमा जाने बताउँदैं अब सर्वोच्चबाट नभई जनअदालतबाट निर्णय हुने बताउनुभयो ।


उहाँले आगामी निर्वाचनमा एमालेले मतदाता किनेर, पैसा खर्च गरेर नभई विगतमा सरकारमा बसेर जनताको काम गरेको आधारमा मत र मन जितेर निर्वाचन जित्ने दावी गर्नुभयो । उहाँले शिक्षक, कर्मचारीलाई निष्पक्ष भएर काम गर्न आग्रह गर्दै भन्नुभयो, “प्रशासनसँग एउटै आग्रह छ, तपाईहरु निष्पक्ष रहनुस् ।”
उहाँले आफ्ना कार्यकर्ता र एमाले समर्थकलाई झुक्याएर सिन्दर हाले जस्तो झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाउनुभयो । त्यसरी झुक्याएर पार्टी सदस्य बनाएकाहरुलाई पुनः एमालेमा समाहित हुन ओलीले आग्रह समेत गर्नुभयो ।
ओलीले एमसीसीलाई संसदमा लगेर टुंगोमा पुर्याउनु पर्ने बताउनुभयो । एमसीसी अन्तराष्ट्रिय सम्बन्ध र नेपालको विदेश सम्बन्धसँग सम्बन्धीत रहेको भन्दै ओलीले यसलाई छिटो टुंगोमा पुर्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले एमसीसी सार्वभौम संसदलाई निर्णय गर्न दिनुपर्ने बताउनुभयो । “हिजो सम्झौता गर्नेहरु अहिले सरकारमा छन । मैले संसदमा टेबुल गरौं भनेर संसदमा दर्ता गरेको हुँ । संसदले नै निर्णय गर्छ भनेका हौं । संसदमा जनप्रतिनिधिहरु छन,” उहाँले भन्नुभयो, “निर्णय गर्ने ठाउँमा त र्पुयाइदिऔं ।”
उहाँले आफु सरकारमा हुँदा होस वा अहिले गठबन्धनमा बसेर सरकारमा रहँदा होस एमसीसीको विरोधका नाममा अनिर्णयको बन्दी बनाउने गरेको भन्दै माधव नेपाल र प्रचण्डको आलोचना समेत गर्नुभयो । “अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्याउन सकेका छैनन् । बाहिर बुरुक्क बुरुक्क उफ्रिन्छन् । संसदमा नपुर्याउने, बाहिर बुरुक्क बुरुक्क उफ्रिने ?,” उहाँले भन्नुभयो ।
सांसद महेश बस्नेतले चार वर्षमा भक्तपुरमा १६ अर्बको विकास निर्माण गरेको दावी गर्दै भक्तपुरको क्षेत्र नं. २ लाई पूर्वाधारले सम्पन्न बनाएको बताउनुभयो । उहाँले आलोचना र कुरा काट्नेहरु डिलमा बसेर कराईरहेको टिप्पणी गर्दै आफुहरु अहोरात्र खटेर विकास निर्माणमा लागि परेको बताउनुभयो । अबको निर्वाचनमा विगतमा जितेका जनप्रतिनिधिहरु र नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुको पालामा भएका विकास निर्माणलाई तुलना गरेर जनताको मत मागेर निर्वाचन जित्ने ठोकुवा समेत गर्नुभयो ।


कार्यक्रममा बागमति प्रदेश सभा सदस्य शशीजंग थापा, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरप्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, नेकपा एमालेका अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सूर्यविनायक नगरपालिकाका वडाअध्यक्षहरु किरण थापा, उपेन्द्र केसी, रविन्द्र सापकोटा, अस्पतालका प्रमुख डा. सागर राजभण्डारीलगायतले अस्पताल सञ्चालनसँगै भक्तपुरका मात्र नभई भक्तपुर पुर्वका नागरिकले समेत सेवा प्राप्त गर्न सकिने बताउनुभयो ।
यसैबीच उद्घाटनसँगै २५ शैयाको सूर्यविनायक नगरपालिका अस्पताल सञ्चालनमा आएको छ । जगातीस्थित भक्तपुर इँटा टायल कारखानाको २५ रोपनी जग्गामा निर्मित नगर अस्पतालमा आईसीयू, एचडीयू, इमर्जेन्सी सेवा, ओपिडी, जनरल वार्ड, एक्सरे र अक्सिजन प्लान्टसहितको सेवा रहेको नगर प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।
सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब रु आठ करोडको लागतमा अस्पताल तयार भएको हो ।