अचेत अवस्थामा फेला परेका दुई सहित चार जनाको मृत्यु

भक्तपुर, फागुन ७
भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुई जना र सानोथिमिमै भर्याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका ९ नंखेलमा एक पुरुष मृत अवस्थामा फेला परेको हो ।
महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार सानोथिमीस्थित मगरगाँउमा ७८ वर्षिय शिवराम श्रीमालीको आफ्नै १ तल्ले घरको भर्याङबाट अचानक लड्ेर मृत्यु भएको हो । लडेर घाईते भएका श्रीमालीलाई उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
त्यस्तै मध्यपुर थिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्ट पछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी ९ का ३५ वर्षिय सुरज तामाङको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । तामाङलाई उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रनाउ पाण्डेले बताउनुभयो ।
यसैगरी मध्यपुर थिमि–२, सानोथिमिस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षिय गणेश मगरको पनि उपचारको क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुक्कुल लगाई अचेत अवस्थामा मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खवर गरेकोमा तत्कालै प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले मगरको उद्धार गरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको थियो ।
यस्तै, सूर्यविनायक नगरपालिका– ९ नँखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिच उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । प्रहरीले चार वटै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।