राष्ट्रिय नृत्य दिवसको अवसरमा थिमिमा साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा

भक्तपुर, फागुन ६
प्रथम राष्ट्रिय नृत्य दिवसको अवसरमा आज ( शुक्रवार) मध्यपुर थिमिमा विभिन्न साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा गरिएको छ । नेपाल नृत्य निर्देशक संघले मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा नेपालका सात प्रदेशका करिव ४० जिल्लाका नृत्य कलाकारहरुको सहभागिता पदयात्रामा रहेको छ ।
फागुन ६ गतेलाई प्रत्येक वर्ष नृत्य दिवसको रुपमा मनाउने उद्देश्य अनुरुप यसवर्ष नृत्य महोत्सवको आयोजना गरी दिवस मनाईएको संघका केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो ।
पदयात्रा मध्यपुर थिमिका विभिन्न सम्पदाहरुको अवलोकन गरी बोडेको कुमारी पार्कमा पुगेर समापन हुनेछ । कुमारी पार्कमा आयोजना हुने मुख्य कार्यक्रममा विभिन्न ४० जिल्ला सहभागी कलाकारहरुले नेपालका मौलिक र परम्परागत नृत्य एवम् झाँकी प्रस्तुत गर्नेछ ।
पदयात्रा अघि थिमिको शंखधर चोकमा सहभागीहरुलाई हेलिकप्टरबाट पुष्प वृष्टि गरी स्वागत गरिएको थियो । त्यस्तै प्याव्सन भक्तपुरले सहभागीहरुलाई नेवारी परम्परा अनुसार सगुन दिई स्वागत गरिएको थियो ।