आइसीसी टि–२० विश्वकप ग्लोबल छनोट – नेपालले ओमानको सामना गर्दै

भक्तपुर, फागुन ६
दोस्रो पटक आइसीसी टि–२० विश्वकप खेल्ने लक्ष्यका साथ नेपालले ग्लोबल छनोट अन्तर्गत आज घरेलु टोली ओमानसँगै खेल्दै छनोट यात्रा शुरु गर्दैछ । आइसीसीले ग्लोबल छनोटलाई दुई समूहमा विभाजन गरी सञ्चालन गर्दैछ । जस अनुसार पहिलो समूहको प्रतिष्पर्धा ओमानमा शुरु शुक्रवारदेखी शुरु हुन लागेको हो । खेल नेपाली समय अनुसार मध्यान्न ११ ः ४५ मा ओमानको मस्कटमा रहेको अलअमरेत क्रिकेट ग्राउन्डमा शुरु हुनेछ ।
पहिलो समूहलाई पनि आइसीसीले दुई समूहमा विभाजन गरेको छ । नेपाल छनोटको समूह बी मा आयोजक ओमान, क्यानडा र फिलिपिन्ससँगै रहेको छ । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् र फाइनलमा स्थान बनाएका दुई टोली विश्वकपका लागि छनोट हुनेछ ।
नेपालले ग्लोबल छनोट अघि ओमानमै चार देश सम्मिलित टि २० सिरिज खेलेको थियो । जसमा ओमानलाई ६ विकेटले पराजित गर्दै सुखद शुरुवात गरेको नेपाल दोस्रो खेलमा युएई र तेस्रो खेलमा टेष्ट राष्ट्र आयरल्यान्डसँग जितको नजिक पुगेर पनि १६ रनले पराजित भएको थियो ।
नेपालले विश्वकप छनोट खेल्ने अन्तिम १४ सदस्य टोली घोषणा गरिसकेको छ । नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिह ऐरी, विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुल्सन झा छन । छनोटका लागि ओमान पुगेका करण केसी अस्वस्थ भएपछि गुल्सनले मौका पाएको हो । ओमानमै रहेका कुशल मल्ल, सहाव आलम र प्रदिप ऐरीलाई रिजर्भ खेलाडीको रुपमा रहेको छ ।
नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्ूअरी २१ मा खेल्ने तालिका रहेको छ ।