सूचनाको हक सम्बन्धी निर्णय कार्यान्वयन भएन

भक्तपुर, फागुन ५
भक्तपुरका सरकारी कार्यालयहरुले सूचनाको हकको कार्यान्वयन नगरेको पाईएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गत कार्तिक ८ गतेको जिल्लास्थित सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको बैठकले सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेपनि कार्यान्वयन नभएको पाईएको हो ।
जिल्लास्थित सूचना अधिकारीहरुको गत कार्तिक ८ गतेको बैठकले सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र ४ तथा नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक कार्यालयको प्रगती विवरण लगायतका सूचना प्रत्येक ३÷३ महिनामा प्रकाशन गर्ने निर्णय गरेको थियो । तर सरकारी कार्यालयहरुले सो निर्णय हालसम्म कार्यान्वयन नगरेको पाईएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बुधवार बसेको सूचना अधिकारीहरुको बैठकमा गत कार्तिक ८ गतेको बैठकको निर्णयको समिक्षा गर्दै सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्न थप निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । “बैठकमा विगतका निर्णयहरुको समिक्षा भयो । विविध कारणले निर्णय कार्यान्वयन नभएको पाईएपछि थप निर्देशन दिईएको छ,” उहाँले भन्नुभयो ।
बैठकले आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पौष ६ महिनाको विवरण तयार गरी आआफ्नो कार्यालयको वेभसाइट, सूचना पाटी तथा आधिकारिक सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने निर्णय भएको सहायक प्रजिअ परियारले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाभरको सूचना माग र प्रवाहको ३÷३ महिनाको विवरण जिल्ला हुलाक कार्यालयले समन्वय गरी तयार गर्ने र सूचना अधिकारीको कामलाई चुस्त, दुरुस्त बनाउने विषयमा समेत निर्णय गरेको सहायक प्रजिअ परियारले बताउनुभयो ।