मध्यपुर युथ एशोसियसनलाई विजको मुख्य प्रयोजन

भक्तपुर, फागुन ५
शहिद स्मारक बी डिभिजन लिगको तयारीमा रहेको भक्तपुरको क्लव मध्यपुर युथ एशोसियसनलाई विज एजुकेशनले मुख्य प्रायोजन गर्ने भएको छ । त्यस्तै लिनिङ र युक्यानले खेल सामग्री प्रायोजन गर्ने भएको छ । सो दुई सम्झौतामा एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह, विजका प्रबन्ध निर्देशक हरि कार्की तथा लिनिङ र युक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनबीच छुट्टाछुट्टै सम्झौतापत्रमा बुधवार हस्ताक्षर भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही फागुन १८ गतेदेखी शहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता सञ्चालन गर्दैछ । सो तयारीमा रहेको एशोसियसनलाई विजले १० लाख रुपैंयासहित मुख्य प्रायोजन गरेको हो ।
सम्झौता अनुसार विजले मध्यपुर युथलाई पाँच वर्ष प्रायोजन गर्नेछ । ‘एशोसियसनलाई बी डिभिजनमा रहँदा सम्म बार्षिक १० लाख र ए डिभिजनमा बढुवा भएको अवस्थामा बार्षिक ३० लाख रुपैयाँ दिने सम्झौतामा उल्लेख गरेको प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए ।
त्यस्तै लिनिङ र युक्यानले मध्यपुर युथलाई प्रत्येक वर्ष आठ लाख बराबरको खेलसामाग्री प्रायोजन गर्नेछ । लिनिङ र युक्यानले मध्यपुर युथलाई जर्सी, ट्रयाकसुट, जुत्तासहितका खेलसामाग्री प्रदान गर्नेछ ।


लिनिङ र युक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले आफूहरुसँग फुटबलका सामग्री नभएपनि फुटबलप्रतिको मायाका कारण एशोसियसनसँग जोडिएको बताए । ‘विगत छ वर्षदेखि सहकार्य गर्दै आइरहेका थियौ । फुटबलका सामग्री हामीसँग नभएपनि फुटबल प्रतिको मायाले गर्दा हामी जोडिएका हौं,’ महर्जनले बताए ।
एशोसियसनको मध्यपुर थिमिको सानो थिमिमा आफ्नै खेल मैदान रहेको छ । मैदानमा एशोसियसनले भवन निर्माण गरी खेलाडीहरुको बसोबासको व्यवस्था समेत गरेको छ । साथै एशोसियसनले ग्रासरुट फुटबल, विद्यालयस्तरिय प्रतियोगिता नियमितरुपमा सञ्चालन गर्दै आएको छ ।
विगतमा ए डिभिजनमा समेत पुग्न सफल एशोसियसन आर्थिक अभावकै कारण ए डिभिजनमा टिकिरहन नसकेको एशोसियसनका उपाध्यक्ष एवम् क्लवका लिग संयोजक अष्ट कवेले बताए । ‘स्थानियको सद्भावले जन्मेको क्लब हो । हामी निकै उत्साहित थियौं । उद्देश्य अनुरुप ए डिभिजनमा पनि पुग्यौं,’ उनले भने, ‘तर क्लब कसरी चल्छ भन्ने ज्ञान थिएन । तर अब हामीलाई धेरै अनुभव भैसकेको छ । आर्थिक पक्ष बलियो नभई क्लब चल्न गाह्रो छ । त्यसतर्फ ध्यान दिएका छौं ।’
सो अवसरमा मध्यपुर थिमि वडा नं २ का अध्यक्ष राम थापामगरले नगरपालिका क्लबलाई सहयोग गर्न सधै तयार रहेपनि क्लबले स्थायी रुपमा आम्दानीका श्रोत जुटाउनु पर्ने बताए । त्यस्तै वडा नं ३ का अध्यक्ष प्रेमबहादुर कुटुले लिगका लागि नगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ थप सहयोगका लागि पहल भइरहेको जानकारी दिए ।
एसोसिएनका अध्यक्ष सिंहले मुख्य प्रायोजक बिज, लिनिङ, युक्यानलाई धन्यवाद दिदै लिगका लागि क्लब उत्साहित रहेको बताए । ‘सबै क्षेत्रबाट सहयोग पाइरहेका छौं, उनले भने, ‘हामी यसपटक फेरि ए डिभिजनमा पुग्ने गरी तयारी गरिरहेका छौं । त्यसकारण दबाब पनि छ ।’
एशोसियसनले बी डिभिजनका लागि स्थानीय खेलाडीसहित उपत्यका बाहिरका १२ जना खेलाडी समावेश गरी टोलीको तयारी गरिरहेको छ ।
सोही अवसरमा अष्ट्रेलिया बसोबास गर्दै आएका सुवास श्रेष्ठले ग्रास रुटका लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरे । त्यस्तै एमपिएमले पनि क्लबलाई ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।