सकियो कठोर माधवनारायण ब्रत

भक्तपुर, फागुन ५
भक्तपुरको हनुमानघाटमा एक महिनासम्म चलेको माधवनारायणको व्रत बुधवार सकिएको छ । प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको महिमासहित चल्ने एक महिना लामो माधवनारायणको व्रत विधिवत पुजाआजा गरी बुधवार सकिएको हो ।
भक्तपुरको हनुमानघाटमा लाग्ने माधवनारायणको व्रत नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएको मानिन्छ । काठमाण्डौंको साँखुस्थित शालीनदीमा स्वस्थानीको महिमासहित लाग्ने माधवनारायणको व्रत र मेला शुरु हुनुभन्दा पहिले हनुमानघाटमा व्रत बस्ने प्रचलन रहेको संस्कृतिकर्मीहरु बताउँछन ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै हनुमानघाटस्थित त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शंख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।


एक महिनाको व्रत अवधीभर व्रतालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरि ईन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शंखदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर एक महिने ब्रत समापन गर्ने परम्परा रहेको छ ।
व्रतालुहरुले व्रत समापन गर्न परम्परा अनुसार माघ शुक्ल पूर्णिमाको दिन विहान त्रिवेणी धाममा स्नान गरी माधवनारायणको पुजा गरेर होम आहुती गरेका थिए । व्रतालुहरुले भक्तपुर नगरका बिभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गरेका थिए ।