चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना

भक्तपुर, फागुन ५
चाँगुनारायण नगरपालिकाका वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडा स्तरमा हुने विवाद वडास्तरमा नै स्थानीय सहभागितामा समाधान गर्ने उद्देश्यले नगरपालिकाले वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो । यसले नगरपालिकालाई विवाद रहित बनाउन र असल समाज निर्माण गर्न सहज हुने विश्वास लिईएको छ ।
नगरपालिकाका ९ वटै वडामा केन्द्रको स्थापना गरिसकेको चाँगुनारायण नगरपालिका न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख बिना बास्तोलाले बताउनुभयो । “वडामा हुने विभिन्न खाले सामाजिक र विकास निर्माणका विवादलाई वडास्तरमा नै मेलमिलापको माध्यमद्वारा निरुपण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो,” उहाँले भन्नुभयो ।
नगरपालिकाले केन्द्रलाई सञ्चालन गर्न वडागत रुपमै मेलमिलाप सहजकर्ता समेत छनोट गरी आवश्यक तालिम समेत प्रदान गरिसकेको छ । नगरपालिकाले ३७ जना मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि ४८ घन्टे आधारभूत तालिम प्रदान गरेको हो ।
केन्द्रले नगरपालिकाको न्यायिक समितिमा आउने निवेदनहरुको पक्ष र विपक्ष दुवैको रोहवरमा मेलमिलाप सहजकर्ताहरुले आवश्यक छलफल गरी मेलमिलापको माध्यमबाट समस्याको समाधान गरिने उपप्रमुख बास्तोलाले बताउनुभयो ।
“कानून बमोजिम मिलापत्र हुनसक्ने मुद्दाका सम्बन्धित पक्ष र विपक्षले आफैले रोजेका मेलमिलापकर्ताको सहयोगमा विवादको सही, सरल र दिगो समाधान मेलमिलाप केन्द्रले गर्नेछ,” उहाँले भन्नुभयो, “यसले पक्षहरूबीच समझदारी, सामाजिकता भावनाको विकास हुनाका साथै दुवै पक्षले जितेको अनुभूति हुनेछ ।”