प्रजातन्त्र दिवसको अवसरमा भक्तपुरमा बृहत रक्तदान कार्यक्रम हुने

भक्तपुर, फागुन ५
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आइतवार भक्तपुरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । भक्तपुरमा प्रजातन्त्र दिवसलाई सिर्जनात्मक र रचनात्मक बनाउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बिहिवार बसेको प्रजातन्त्र दिवस जिल्लास्तरिय समितिको बैठकले बृहत रक्तदान आयोजना गर्ने निर्णय गरेको हो ।
भक्तपुर अस्पतालको प्रांगणमा बिहान ११ बजे हुने उक्त रक्तदान कार्यक्रमले रगतको अभावलाई समेत केही मात्रामा पुर्ती गर्ने विश्वास गरिएको छ ।
बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते थप विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । प्रजिअ शर्माका अनुसार बैठकले सर्वसाधरणहरुलाई फागुन ६ गतेदेखी तीन दिन दिपावली गर्न आग्रह गर्दै सरकारी तथा संघ संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा फहराई साँझ दिपावली गर्ने, कार्यालय परिसरमा सरसफाई गर्ने, रक्तदान तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।


त्यस्तै नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको संयोजनमा जिल्लास्थित सञ्चारमाध्यमहरुमा प्रजातन्त्र दिवस सम्बन्धी सन्देश, सूचना, अन्तरक्रिया, छलफल तथा बहश कार्यक्रम प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।
दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको स्थापना दिवसको अवसरमा रेडक्रसका २१ वटै उपशाखाले आयोजना गर्ने रक्तदानलगायतका विविध कार्यक्रमलाई समेत प्रजातन्त्र दिवसको कार्यक्रमसँग समायोजन गरी सञ्चालन गर्ने निर्णय गरेको रेडक्रस भक्तपुरका मन्त्री परशुराम पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, घरेलु तथा साना उद्योग संघ, नेपाल रेडक्रस सोसाईटी भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।