डेढ करोड बराबरको अवैध मदिरासहित चार जना पक्राउ

भक्तपुर, माघ १६
महानगरिय अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाण्डौंको विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध विदेशी मदिरासहित चार जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाण्डौंको रामकोट, बानेश्वर, कपनलगायतका क्षेत्रबाट करिव डेढ करोड मूल्यका अवैध विदेशी मदिरासहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्साको गादी गाविस ८ घर भई हाल कपन बस्ने ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, कागेश्वरी मनहरा नगरपालिका ६ बस्ने ३० वर्षका सैलेश पन्त, पर्साको सुवर्णपुर गाविस ५ घर भई हाल काठमाण्डौं हाँडीगाउँ बस्ने २८ वर्षका रविन पाख्रिन र सर्लाहीको वरहथवा नगरपालिका ९ घर भई हाल काठमाण्डौं चावहिल बस्ने ४० वर्षका नारायण प्रसाद घिमिरे रहेका छन् ।


उनीहरूलाई प्रहरीले माघ १४ गते राति पक्राउ गरेको थियो । उनीहरूको साथबाट करिब २९६ कार्टुन रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रिगल नामका विदेशी मदिरा बरामद गरेको छ । यसको बजार मूल्य करिब डेढ करोड रुपैंया हुन आउने महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
एसपी कोइरालाका अनुसार पर्सा जिल्ला गादी घर भई बुढानिलकण्ठ एरियामा बस्ने सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले विभिन्न ब्राण्डका विदेशी मदिरा भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई बिक्रि वितरण गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाले ‘अप्रेशन लिमा’ शुरु गरेको थियो ।
महाशाखाले अप्रेशन लिमा अन्तर्गत आफैं ग्राहक बनेर अवैध मदिरा कारोवारीलाई पक्राउ गरेको हो । विशेष टोलीको अर्डर अनुसार पक्राउ परेकाहरु मध्ये नारायण प्रसाद घिमिरे स्वयम् मदिरा लिएर आएका थिए । प्रहरीले उनलाई १६ कार्टुन अवैध मदिरासहित पक्राउ गरी उनको गोदाममा छापा मारी थप २८० कार्टुन मदिरा बरामद गरेको एसपी कोइरालाले बताउनुभयो ।
अनुसन्धानको क्रममा रवि भन्ने भारतिय नागरिक र नेपाली नागरिक सन्तोष चन्द्र बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू विक्रि वितरण गरेको खुल्न आएको छ । बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६०कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानुनी रुपमा विक्रि वितरण गरेको एसपी कोइरालाले जानकारी दिनुभयो
बख्रेलले बजारमा विक्रि वितरण गर्न ईन्फिनिटि लिक्योर, मुलपानीका सञ्चालक शैलेश पन्तसंग मिलेर काम गर्दै आएको र नारायण प्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरू डिउटी फ्रीको हो भनी ग्राहकलाई विश्वास दिलाई विक्रि गर्दै आएका थिए । राजश्व छलीका उक्त मदिराहरू विशेषतः पार्टी प्यालेसमा विक्रि वितरण गर्ने गरेको खुल्न आएको एसपी कोइरालाले बताउनुभयो ।
महाखाशाले उनीहरूलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको छ ।