विमलको निर्णायक गोलमा नेपालको जित, मौरिसस १–० ले पराजित

भक्तपुर, माघ १५
फरवार्ड बिमल घर्तीमगरको एकमात्र निर्णायक गोलको मद्दतले नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हासिल गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा शनिवार सम्पन्न नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मौरिसस विरुद्ध १–० को जित हासिल गरेको हो ।
पहिलो हाप बराबरीमा सकिएको खेलमा नेपाललाई जित दिलाउन खेलको ५५ औं मिनेटमा विमलले निर्णायक गोल गरेका हुन् । एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।
विमलले अञ्जन विष्टको पासमा गोल गरेका हुन । अञ्जनको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो विमलको नवौं गोल हो । विमलले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन् ।


मौरिससविरुद्ध नेपाल शुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । खेलको दोस्रो मिनेटमा नै नेपालले फ्रिकिकको मौका पायो । सुनिल बलको प्रहार डिफ्लेक्ट हुँदै बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । नेपालका केही प्रयासमा मौरिससका गोलरक्षक तथा कप्तान केभिन जित लुइस बाधक बने ।
खेलको १४ औं मिनेटमा नेपालका सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाटको सशक्त प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो । खेलको १६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङको ब्लक गरे । खेलको २२ औं मिनेटमा मरिससका स्टेभेन नाजिराको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै बचाए ।
३१औं मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिदै नेपालको खतरा टारे ।

४१ औं मिनेटमा नेपालका सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको ४५औं मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर गुमाए । लामो दुरीबाट प्राप्त बलमा मौरिससका डिफेन्डरको गल्तीबाट अन्जनले अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै बाहिरिएको थियो ।
खेलको ४६ औं मिनेटमा फेर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लाग्दै फर्किएपछि मरिसस अग्रता बनाउन चुकेको थियो । ६५ औं मिनेटमा मौरिससका स्टेभेन नाजारियाको प्रहार गोलकिपर किरणले बचाए ।
खेलको ७५ औं मिनेटमा जगजित श्रेष्ठको फ्रि–किकमा अन्जनको फ्लिक हेडर बल पोस्टको क्रसबारमा लागेर फर्किदा नेपाल दोब्बर अग्रता बनाउन चुकेको थियो । ७७ औं मिनेटमा अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पुनः पोस्टमा लागेर फर्किएको थियो । त्यहिँ रिबाउन्डमा जगजितको हेडर मौरिससका गोलकिपर केभिनले उत्कृष्ट बचाऊ गरे ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।