विद्यालय खोल्ने वातावरण बनाउन प्याव्सनको माग

भक्तपुर, माघ १७
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) भक्तपुरले ९ बुँदे मागसहित भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई ज्ञापन पत्र बुझाएका छन् ।
प्याब्सन भक्तपुरले गत पौष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सि.सि.एम.सि.को सिफारिस तथा गृह मन्त्रालयको निर्णयको आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट जारी आदेशप्रति ध्यानाकर्षण भएको जनाउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
प्याब्सन जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्रजिअ रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाउँदै विद्यालय खोल्ने वातावरण बनाउन अनुरोध गर्नुभयो । ज्ञापनपत्रमा कोरोना महामारीको बहानामा विद्यालय बन्द गर्नु बालबालिकाको पढ्न पाउने अधिकारको विरुद्ध रहेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा नेपाल सरकारद्वारा सञ्चालित १२ वर्षभन्दा माथिका बाँकी विद्यार्थीहरूलाई लगाउने खोप अभियान २०७८ माघ मसान्तभित्रमा सबै विद्यालयहरूमा सम्पन्न हुनुपर्ने साथै पहिलो खोप लगाइसकेका विद्यार्थीहरुलाई समयमै दोस्रो खोपको व्यवस्था गर्नुपर्ने, सरकारले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरूका लागि कोभिड विरुद्धको खोप लगाउन पहल भैरहेकोमा उक्त खोप २०७८ फागुन महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने, न्यून आर्थिक स्तर भएका बालबालिकाहरूले अनलाइन कक्षाका लागि मोबाइल वा अन्य डिभाइस व्यवस्था गर्न नसक्ने हुनाले त्यस्ता विद्यार्थीहरूलाई विद्यालयको सिफारिसमा मोबाइल÷ल्यापटप खरिदमा नेपाल सरकारले अनुदान दिनुपर्ने र इन्टरनेट सुविधा निःशुल्क उपलब्ध गर्नुपर्ने माग गरेका छन ।
त्यस्तै शैक्षिक संस्थाहरूलाई सञ्चालन गर्ने सम्बन्धमा संघीय सरकारले यो अधिकार स्थानीय निकायहरूलाई प्रत्यायोजन गर्दा समस्या समाधानको सहज उपायहरू निस्कने भएकाले सो अधिकार सोझै केन्द्र सरकारले भन्दा पनि ऐन नियम अनुसार स्थानीय निकायहरूलाई दिनुपर्ने, विद्यालयमा भौतिक कक्षाहरू बन्द हुँदा काम गर्ने श्रमजीवी अभिभावकहरू आफ्ना छोरा÷छोरीको स्याहारसुसारको लागि घरै बस्नुपर्ने बाध्यता भएकोले रोजगारी, आय दुवै गुम्ने र त्यसको प्रत्यक्ष असर आर्थिक रूपमा पर्ने भएकाले सोको बारेमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने, राज्यले बाल अधिकारको चार्टरमा हस्ताक्षर गरी बाल अधिकारप्रति प्रतिबद्धता जनाई सकेको अवस्थामा सम्पूर्ण बालबालिकाको पढ्नलेख्न पाउनु पर्ने अधिकार नेपाल सरकारबाट सुनिश्चित हुनुपर्ने, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई कोभिड विरुद्धको खोप÷बुष्टर डोज अविलम्ब उपलब्ध गराउनुपर्ने, विद्यार्थीहरूलाई अभिभावकको सम्पर्कबाट पनि कोभिड संक्रमण हुने सम्भावना रहेको हुँनाले कोभिड–१९को खोप नलगाएका अभिावकहरूको लगत तयार गरी अनिवार्य रूपमा खोपको व्यवस्था हुनुपर्ने र नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी आदेश अनुसार २५ जना विद्यार्थीहरूभन्दा कम भएका जुनसुकै कक्षाहरू भौतिक रूपमा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग गरेका छन् ।
‘आम विद्यार्थीहरूलाई घरमा राख्दैमा कोरोना भाग्छ भन्ने कुरामा हाम्रो गम्भीर असहमति रहेको कुरा पनि यहाँहरू समक्ष राख्न चाहन्छौँ । विद्यालयहरू स्वास्थ्यका मापदण्ड अपनाई भौतिकरूपमै अबिलम्ब सञ्चालन गर्नुको अर्काे विकल्प छैन । देशको समग्र शैक्षिक प्रणालीको प्रभावकारीता, आवश्यकता एवम् विद्यार्थीहरुको शैक्षिक भविष्यका निम्ति काठमाण्डौ उपत्यकाभित्रका सम्पूर्ण जिल्ला प्याब्सन तथा नगर प्याब्सनको तर्फबाट सुझाव तथा मागहरु श्रीमान् समक्ष प्रस्तुत गर्दछौँ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।