भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुग्यो

भक्तपुर, माघ १६
भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सोमवार थप दुई संक्रमितको मृत्यु भएको पुष्टि गरेसँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६८ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा एक÷एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको हो ।
भक्तपुरमा कोरोना संक्रमणका कारण हालसम्म २३६ पुरुष र १३२ महिलाको मृत्यु भएको छ । ती मध्ये सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा ११० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७४ पुरुष र ३६ महिला छन ।
त्यस्तै सूर्यविनायक नगरपालिकामा ६९ पुरुष र ४० महिला गरी १०९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।
भक्तपुर नगरपालिकामा ५२ पुरुष र ३४ महिला गरी ८६ जनाको मृत्यु हुँदा चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमणका कारण ४१ पुरुष र २२ महिला गरी ६३ जनाको मृत्यु भएको मिजारले बताउनुभयो ।
यसैगरी भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । दैनिक संक्रमितको तुलनामा निको हुनेको संख्या बृद्धि भएसँगै भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थालेको हो ।
भक्तपुरमा सोमवार पछिल्लो २४ घण्टामा ९१ पुरुष र ९१ महिला गरी कुल १८२ जना नयाँ संक्रमण पुष्टि हुँदा ३३३ पुरुष र २८८ महिला गरी कुल ६२१ जना संक्रमण मुक्त भए । यससँगै भक्तपुरमा सक्रिय संक्रमितको संख्या ४ हजार ६०९ मा झरेको छ । दुई दिन अघि यहाँ सक्रिय संक्रमितको संख्या ५ हजार माथि थियो ।
सक्रिय संक्रमित मध्ये ७९ पुरुष १९ महिला गरी ९८ जना विभिन्न संस्थागत आइसोलेसन केन्द्र र अस्पतालहरुमा उपचार गराइ रहेका छन भने २ हजार २७८ पुरुष र २ हजार २३३ महिला होम आइसोलेसनमा छन ।