संविधानको सिमाभित्र रहेर नै स्थानीय तहको निर्वाचन – मन्त्री श्रेष्ठ

काठमाण्डौं, माघ १२
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको ‘चुनाव केन्द्रित विशेष साक्षात्कार’ कार्यक्रममा मन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचनबारे अहिले भइरेहका बहसप्रति सरकारको ध्यानाकार्षण भएको जनाउँदैं संविधानको प्रावधान अनुसार निर्वाचन हुने बताउनुभएको हो ।
‘स्थानीय तहको निर्वाचन हामी संविधानको सिमाभित्र नै रहेर गराउँछौं । अहिले हामी छलफलकै क्रममा छौं,’ उहाँले भन्नुभयो । उहाँले मन्त्रालयले निर्वाचनको तयारी गरिरहेको समेत बताउनुभयो । ‘हाम्रो मन्त्रालय स्थानीय तहको सन्दर्भमा एउटा कोअर्डिनेटिङ मिनिष्ट्री, अर्थात् लाईन मिनिष्ट्रिी पनि भएको हुनाले यसको लागि हाम्रो मन्त्रालयले होमवर्क पनि गरिरहेको अवस्था हो,’ उहाँले भन्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचन बारे संविधान र कानुनको अध्ययन भइरहेको जानकारी दिनुभयो । ‘अहिले संविधानको व्यवस्था के छ, त्यो हेर्नुपर्छ । संविधानमा व्यवस्थापिका र कार्यापालिकाको सम्बन्धमा अलग–अलग व्यवस्था देखिन्छ । संविधानको धारा २१५ मा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको कार्यअवधि ५ वर्ष हुनेछ भनिएको छ । त्यस्तै, संविधानको २१६ मा नगरपालिकाका मेयर, उपमेयर र सदस्यहरुको कार्यकाल पनि ५ वर्ष हुनेछ भनेर प्रष्ट व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो ।
उहाँले उहाँले संविधानको धारा २२५ ले गाउँसभा र नगरसभाको कार्यकाल ५ वर्षको हुनेछ भनेर व्यवस्था गरेको बताउनुभयो । उहाँले संविधान र ऐनको प्रावधान बाझिएको तर्क पनि आएको बताउँदैं संविधानमा नै संविधानसँग बाझिएका सबै कानूनहरु स्वतः बदर हुन्छ भनिएको स्मरण गराउनुभयो ।


‘स्थानीय तहको निर्वाचन असार र असोजमा भएकोहरुको कार्यकाल के हुने त ? कार्यअवधि नपुगेको कुरा उठेको छ । सही समाधान कसरी दिने त ? भनेर अहिले हामी छलफलमा छौं । हामीले अहिले बहस गरिरहेका छौं । विज्ञ र कानून व्यवसायीहरुसँग छलफल गरिरहेका छौं । अहिले नै हामी ठोस निश्कर्षमा पुगेका छैनौं । सबैको पाँच वर्ष पनि पुग्ने र पद रिक्त पनि नहुनेगरि हामी निर्वाचनको तयारीमा जुटेका छौं,’ उहाँले भन्नुभयो ।
उहाँले अहिले रहेको पाँच दलीय सत्तारुढ गठबन्धन निर्वाचनसम्म नै कायम रहने पनि विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन टुटिदिए हुन्थ्यो र फुटिदिए हुन्थ्यो भन्ने पनि छन्, कतिपय व्यक्तिले यही भनेर धमिलो पानीमा माछा मार्न खोज्दैछ । तर हाम्रो गठबन्धनको पानी स्वच्छ छ । हाम्रो मुहान नै सफा छ । गणतन्त्र, संविधान र संघीयतालाई जोगाउने सन्दर्भमा हामी एकजुट भएको हुँदाखेरी नेपालमा संघीयता र समावेशीताको युगमा नेपालमा प्रवेश गरेको अवस्थामा कोलिशन गभर्मेन्टमात्रै होईन कोलिशन कल्चरपनि आवश्यक पर्छ ।’
उहाँले गठबन्धन लामो समयसम्म आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले प्रि–पोल गठबन्धनमा जान्छौं । निर्वाचनपछि गठबन्धन पनि गर्न सकिने अवस्था छ । गठबन्धनको एउटामात्रै मोडालिटी हुँदैन् । यसबारेमा आम सहमति छ ।’