भक्तपुरको जनसंख्या ४ लाख ३० हजार नाघ्यो

Bhaktapur District Map

भक्तपुर, माघ १२
भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भक्तपुरमा ४ लाख ३० हजार ४०८ जनसंख्या पुगेको जनाएको हो ।
यसअघि वि. सं. २०६८ को जनगणनामा भक्तपुरको जनसंख्या ३ लाख ४ हजार ६५१ रहेको थियो । विभागले भक्तपुरलाई सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएका ५ जिल्लाको पहिलो सूचीमा राखेको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना पुगेको छ । जुन १० वर्षअघिको राष्ट्रिय जनगणना २०६८ को जनगणनाको तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो । दश वर्षअघि (२०६८ सालमा) नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।
दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बृद्धि भएको छ । विगत दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको विभागले जनाएको छ ।
नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ । नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ ।