भक्तपुरका ९२ स्थानमा अनाधिकृत प्लानिङ, जग्गा नकिन्न प्राधिकरणको आग्रह

भक्तपुर, माघ १०
भक्तपुरका विभिन्न स्थानमा अनाधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाईएको छ । काठमाण्डौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले जिल्ला भित्र गरेको अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनाधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको पाईएको हो ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गरी भक्तपुरको सूर्यविनायक नगरपालिकामा ११, मध्यपुर थिमि नगरपालिकामा १ र चाँगुनारायण नगरपालिकामा ८० स्थानमा गरी कुल ९२ स्थानमा अनुमति नलिई अनाधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको जनाएको हो । प्राधिकरणले अनुमति नलिई गरेका प्लटिङले सार्वजनिक सम्पत्ति, ऐलानी, पर्ती जग्गाहरू समेत प्रयोग गरेको पाईएकोले त्यस्ता प्लटिङमा जग्गा खरिद गर्दा अनुमति लिए नलिएको हेर्न र बुझेर मात्र किन्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
त्यसैगरी त्यस्ता जग्गा प्लटिङ गर्ने व्यवसायीहरुलाई पनि आवश्यक कागजपत्रसहित अनुमतिका लागि आवेदन दिन अनुरोध गरिएको छ । प्राधिकरणले अनुमतिका लागि आवश्यक प्रक्रियामा नआए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
प्राधिकरणका अनुसार चाँगुनारायण नगरपालिकाको वडा १ मा पर्ने दुवाकोट वीर हस्पिटल मुनी १ वटा, वीर हस्पिटलको पश्चिममा १ वटा, मनोहरा आधारभूत स्कुलको पूर्वमा १ वटा, मनोहरा आधारभुत स्कुल माथी १ वटा, बेँसीमा शशस्त्र प्रहरी पोष्ट नजिकको ३ वटा, निलबाराही कागज कारखाना नजिकको १ वटा, सरस्वती खेल बसपार्क नजिकको ३ वटा, गणेश मन्दिर नजिकको ४ वटा, सरस्वती खेल बसपार्क पश्चिममा पर्ने २ वटा, सरस्वती खेल बसपार्क दक्षिणमा पर्ने १ वटा, सिन्टिटार जग्गा एकिकरण आयोजनाको पूर्वपट्टी १ वटा अनाधिकृतरुपमा जग्गा प्लटिङ भइरहेको छ ।
त्यसैगरी बस्ताकोटी चोकको प्लानिङमा सल्लाघारी नजिकको १ वटा, केएमसी हस्पिटल बारुद खाना चोक वरिपरीको ४ वटा, महाँकाल चोक वडा १ को सिमाना आचार्य टोल ३ जाने बाटोमा रहेको १ वटा, वडा कार्यालयको पूर्व पश्चिममा पर्ने ५ वटा, सुजखु टोल अगाडिको प्लानिङमा रहेको १ वटा, दुःख हरणेश्वर खानेपानी नजिकै प्लानिङको १ वटा, जागृत चोक नजिकैको प्लानिङको १ वटा, छत्रपाटी खोलाधर प्लानिङको १ वटा, गेलाल गाउँ स्थित बाग्रेमुडा प्लानिङको १ वटा प्लटिङ अनुमति बिना गरिएको प्राधिकरणले जनाएको छ ।
चाँगुनारायण नगरपालिकाकै वडा ३ स्थित ग्वाप्छा टोलमा दाहाल गाउँ प्लानिङ १ वटा, राउत टोल प्लानिङको १ वटा, ऊँकार भिलेज मल्टिरोड प्लानिङको १ वटा, चाँगुनारायण हाइस्कुल डाँडाघर फुलबारीको १ वटा, कमलपोखरी आजात स्कुल अगाडिको प्लानिङको १ वटा, लकिला प्लानिङको १ वटा, लाकिलाको बायाँपट्टी ओरालाको १ वटा, लाखेटोलको प्लानिङको १ वटा, चुनदेवी मन्दिरको पुर्वपट्टी प्लानिङ भएको १ वटाले पनि अनुमति नलिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै वडा नम्बर ४ स्थित चाँगुनारायण हाइस्कुल डाँडाघर फुलबारी प्लानिङको १ वटा, कुँइकेल गाउँ चाँगुनारायण मन्दिर मुनी मनोहरा खोला छेउको ३ वटा, मुलपानी वारी इन्जिनियरिङ कलेज वरिपरीको २ वटा, चाँगुनारायण मन्दिरको उत्तर पश्चिममा १ वटा, पुरानो वडा नम्बर ४ कार्यालयको उत्तर पश्चिममा ५ वटा, गाउँ डोल नयाँ बस्तीमा ४ वटा, मुलपानी पुल नजिक इन्जिनियरिङ कलेज वरिपरी ५ वटा, समावेशी वस्ती नजिक १ वटा, चाँगुनारायण मन्दिरको उत्तर पश्चिम पट्टिको मुनि १ वटा र चाँगुनारायण मन्दिर मुनिको १ वटा छन ।
चाँगुनारायण नगरपालिका वडा ५ मा छालिङ ओमशान्तिजाने बाटोको वरिपरीको ३ वटा, छालिङ नयाँ नगरपालिका भवनको वरिपरीको २ वटा, त्रिशुलडाँडा मुनीको १ वटा, चाँगुनारायण अस्पताल नजिकको १ वटा र लप्टन डाँडा वरिपरीको ३ वटा प्लटिङ अनुमति बिना गरिएको पाइएको छ ।
प्राधिकरणले चाँगुनारायण नगरपालिका वडा ६ मा नगरकोट बाख्री गाउँ (रोजी खाजाघर एण्ड होमस्टे) बाटो माथी, बाटो मुनिको २ वटा र गैरी गाउँ एशिया तिलकोट २ भन्दा माथी नगरकोट मि कि ३ जाने बाटोमा ५ वटा प्लटिङ अनुमति विना भएको जनाएको छ ।
त्यस्तै चाँगुनारायण नगरपालिका वडा ७ मा पर्ने बागेश्वरी सुविधानगरमा १ वटा, फोजु टोलमा १ वटा, काफ्ले टोलमा १ वटा, वन पँधेरो मुहान पोखरी भन्दामाथी १ वटा, महादेवस्थान माथी २ वटा, बागेश्वरी हेल्थ पोष्ट जाने बाटोमा १ वटा, बाँसबारी जितपुर जाने सडकमा ४ वटा, विद्युत प्राधिकरण तालिम केन्द्रमुनि ४ वटा, हेलमेट डाँडामुनि ३ वटा, यातु महादेव मन्दिरमुनी १ वटा, नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र पूर्व पट्टी १ वटा र आर्मी तालिम केन्द्रको सामुन्ने पट्टि १ वटा प्लटिङले पनि अनुमति नलिएको प्राधिकरणले जनाएको छ ।
चाँगुनारायण नगरापालिका वडा ८ मा पर्ने गुम्बा वरिपरीको ४ वटा, पुरीगाउँ पाकल मोड पिचरोड माथि र तलको २ वटा, आरुबारीको २ वटा पञ्चकन्या स्कुल मुनिको १ वटा, खुवा पसल चोक नजिक दायाँ वायाँको २ वटा, ठूली ब्रमायणीको २ वटा, सुडाल प्रहरी चौँकी अगाडीको १ वटा, सुडाल प्रहरी चौँकी पछाडीको १ वटा, बागमारे पाटी उत्तर साईडको १ वटा, बिडोलको ३ वटा, गोसपुलको पूर्वी क्षेत्रको १ वटा, चरेलीको माथिल्लो डाँडाको ३ वटा र सुडाल महादेव खोला छेउको २ वटा प्लटिङ पनि अनिधिकृतरुपमा भइरहेको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ९ स्थित ताथली पशु सेवा केन्द्रको दक्षिणपट्टिको १ वटा, हलथ्रा उत्तरपुर्व वडा कार्यालय नजिकैको २ वटा, हलुङ्गापूर्वको १ वटा, ताथली उग्रथण्डी चामल पिठो उद्योगको माथि ३ वटा, ताथली छापखोला माथिको १ वटा, सौडोलको २ वटा, इठूप्नी–साबिक ताथली ७ ग क्षेत्रमा पर्ने ७ वटा, ताथली बिस्कुट कारखानाको उत्तरतर्फ र दक्षिणतर्फ २ वटा र ताथली फूलबारी याता फाँटमा ३ वटा प्लटिङ पनि अनुमति विना भइरहेको छ ।
त्यसैगरी प्राधिकरणका अनुसार मध्यपुर थिमि वडा नं. निकोशेरा नागबेली मार्गसँगैको १० रोपनी क्षेत्रमा भइरहेको प्लानिङले अनुमति लिएको छैन ।
सूर्यविनायक नगरपालिकाको विभिन्न ११ स्थानका प्लटिङमा जग्गा नकिन्न प्राधिकरणले सर्वसाधारणलाई सुचित गरेको छ । प्राधिकरणले सूर्यविनायक नगरपालिका वडा नम्बर ३ को भुजेल टोलको २२ रोपनी र जाउखेल स्थित ५ रोपनी जग्गामा अनुमति विना प्लटिङ भएको जनाएको छ ।
सूर्यविनायक नगरपालिकाको वडा ४ गाम्चाचोक नजिकै ६ रोपनी, ग्रेट हाउजिङको पूर्वपट्टी, चौरखण्डी हाउजिङ, वडा नं. ५ को सुवर्णेश्वर मन्दिर तल जनस्वास्थ्य जाने बाटोसँगै रहेको ३ रोपनी, वडा नं. ८ को जगाती डोलेश्वर जाने सडक माथीको ५ रोपनी, डोलेश्वर मनकामना मन्दिर नजिकको ७ रोपनी, सिपाडोल कृष्ण मन्दिर पछाडीको २० रोपनी, वडा नं. १० साँगा महादेव छेउमा रहेको २० रोपनी र काठमाण्डौं फनभ्याली पछाडि साँगा जोड्ने वैकल्पिक सडकसँगै रहेको प्लटिङ पनि अनधिकृतरुपमा भएको प्राधिकरणले जनाएको छ ।