भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ

भक्तपुर, माघ ९
भक्तपुरमा कोरोना संक्रमितको ग्राफ उकालो लागेको छ । दैनिक ५ सय भन्दा धेरै संक्रमित थपिएसँगै भक्तपुरमा संक्रमितको ग्राफ उकालो लागेको हो ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतवार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए । त्यस्तै माघ ८ गते शनिवार ९६८, ७ गते बिहिवार ६२७, ६ गते बिहिवार ५६४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्ण बहादुर मिजारले बताउनुभयो ।
कोरोना संक्रमितको संख्या बढेसँगै भक्तपुरमा सक्रिय संक्रमित संख्या समेत ह्वात्तै बढेको छ । जिल्लामा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार नजिक पुगेको छ । भक्तपुरमा आइतवार थप ५३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ९८ पुगेको छ । जसमध्ये पुरुष २ हजार ७० र महिला १ हजार ९ सय २८ जना छन ।
भक्तपुरमा चार नगरपालिका मध्ये सबैभन्दा धेरै मध्यपुर थिमिमा १ हजार १४७ जना सक्रिय संक्रमित छन । ती मध्ये ५८९ पुरुष र ५५८ महिला छन । मध्यपुर थिमिमा आइतवार मात्रै २०२ जना संक्रिमित थपिएका थिए ।
त्यस्तै सूर्यविनायक नगरपालिकामा एक हजार ६२, भक्तपुर नगरपालिकामा ७६५, चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताउनुभयो ।
सक्रिय संक्रमित मध्ये ३१ जना संस्थागत आइसोलेसन र अस्पतालहरुमा उपचाररत छन । स्वास्थ्य कार्यालयका अनुसार २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन । त्यस्तै एचडियूमा ४ जना, आइसीयूमा ३ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।
यसैगरी भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ । गत ८ गते एक संक्रमितको मृत्युसँगै भक्तपुरमा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ३६० पुगेको हो ।