भक्तपुरमा सिटामोल अभाव

भक्तपुर, माघ ९
भक्तपुरका अधिकांश औषधि पसल एवम् फार्मेसीहरुमा सिटामोलको अभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय औषधि व्यवस्था विभाग र महानगरिय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतवार दुधपाटी, सूर्यविनायक र कमलविनायकका औषधि फर्मा र फार्मेसीहरुमा गरिएको अनुगमनका क्रममा सिटामोलको अभाव देखिएको हो ।
अनुगमन टोलीले २० वटामा अनुगमन गर्दा अधिकांशमा सिटामोल नपाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । ‘केही पसलमा सिटामोल न्यून मात्रामा पाईएपनि अधिकांशमा सिटामोलको भण्डार शुन्य रहेको पाईयो,’ उहाँले भन्नुभयो । उहाँले दुई वटा फार्मेसीलाई थप बुझ्न औषधि विभाग पठाएको जानकारी दिनुभयो । उहाँले वितरकबाट भक्तपुरका औषधि पसलहरुमा सिटामोल पठाए नपठाएको बारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
सिटामोल लगायतका औषधि समेत नपाईएको जनगुनासो आएपछि प्रशासनले सूर्यविनायक, कमलविनायक र दुधपाटीका २० वटा औषधि पसल र फार्मेसीहरुमा अनुगमन गरेको थियो ।