२४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता – गणेशले राखे राष्ट्रिय किर्तिमान

भक्तपुर, पुस २७
मध्यपुर थिमिमा जारी २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । गणेशले सिनियर पुरुष ५५ केजी तौल समूहको क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।
उनले सेनाका तुलाराम महतोको १०० केजी तौलको किर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय किर्तिमान राखेका हुन । सेनाका तुलारामले तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा आफैंले राखेको ९८ केजीको राष्ट्रिय किर्तिमान भंग गर्दै १०० केजी उठाएका थिए । लगत्तै गणेशले १०१ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान राखेका हुन ।


थिमिस्थित थिमि बैंक्वेटमा जारी प्रतियोगितामा गणेश समग्रमा दोस्रो स्थान हत पार्दै रजत पदक जिते । गणेशले क्लिन एण्ड जर्कमा राष्ट्रिय किर्तिमान राखेपनि सो स्पर्धामा तुलारामले स्वर्ण जिते । तुलारामले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरी समग्रमा १८३ केजी भार बहन गरे । यस्तै गाणेशले स्न्याचमा ७२ केजी र क्लिनमा १०१ केजी गरी समग्रमा १७३ केजी भार बहन गरे । तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे । उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरी कुल १५५ केजी भार बहन गरे ।
नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५५ केजी युथतर्फ पर्साका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरी कुल १०२ केजीका साथ स्वर्ण हात पारे । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए ।


यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भार बहन गरी स्वर्ण हात पारका हुन् । दोश्रो स्थानमा रहेका पर्साका धिरज गुप्ताले स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुल १४५ केजी भार बहन गरे । बर्दियाका सुदीप थारु कुलमा १४० केजीका साथ तेश्रो भए । उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार बहन गरेका थिए ।
महिलातर्फ युथ ४५ केजीतर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत प्राप्त गरे । थारुले स्नाचमा ३८ केजी, क्लिन एण्ड जर्कमा ५० केजी गरी कुल ८८ केजी भार बहन गरिन् । यस्तै यादबले स्नाचमा ३० र क्लिनमा ३५ केजी गरी कुल ६५ केजी भार बहन् गरिन् ।
४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्नाचमा ३५ केजी र क्लिनमा ४१ केजी गरी कुल ७६ केजीका साथ स्वर्ण प्राप्त गरिन् । यस्तै दाङकी निशा चौधरीले स्नाचमा ३४ केजी, क्लिनमा ३८ केजीका साथ कुल ७२ केजीका साथ रजत र झापाकी सोनीदेवी दासले स्नाचमा २८ केजी, क्लिनमा ४० केजी गरी कुलमा ६८ केजी भारका साथ कास्य प्राप्त गरिन ।
जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरि कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । ४९ केजीमा बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण जित्दा दाङकी सन्जना चौधरीले रजत पाईन् । दुई खेलाडीविच भएको प्रतिस्पर्धामा थापा मगरले स्नाचमा ४५ केजी, क्लिनमा ५६ केजीका साथ कुल १०१ केजी भार बहन गरी स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै चौधरीले स्नाचमा ३५, क्लिनमा ४७ केजी गरी कुलमा ८२ केजी भार बहन गरिन् ।
महिला ४५ केजी सिनियरतर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जितिन् । उनले स्नाचमा ५२ केजी र क्लिनमा ६१ केजी गरी कुल ११३ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४८ केजी, क्लिनमा ६१ गरी कुलमा १०९ केजी भार बहन गरिन् । तेश्रो स्थानमा रहेकी नेपाल प्रहरीकी हिरामती थारुले स्नाचमा ४६ केजी र क्लिनमा ५५ केजीका साथ कुल १०१ केजी भार बहन गरिन् ।
महिला ४९ केजी तर्फ प्रहरीका संगिता राईले स्वर्ण र तिला राईले रजत पाईन् । संगिताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरी कुल १२८ केजी भार बहन गरेकी थिईन् । तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरि कुल ९५ केजी भार बहन गरिन् ।
यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमल बहादुर अधिकारी र १३ औं सागमा स्वर्ण पदक प्राप्त गर्न सफल बिकास थापा र सञ्जु चौधरीलाई संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ अध्यक्ष श्रेष्ठका पिता पुर्ण शंकर श्रेष्ठले नगदसहित सम्मान गरेका थिए । पुर्ण शंकरले व्यक्तिगत रुपमा नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।