कोरोना संक्रमण नियन्त्रणका लागि भक्तपुरमा २५ जना भन्दा बढी भेला हुन रोक (सूचनासहित)

भक्तपुर, पुस २७
काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (मंगलवार) राती १२ बजेदेखी लागु हुने गरी २५ जना भन्दा बढी भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्न÷नगराउन आदेश जारी गरेको छ ।
उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको बैठकपछि भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले २५ जना भन्दा बढी भेला हुने गरी मेला, महोत्सव, भेला एवम् सामाजिक गतिविधिहरु नगर्न नगराउन आदेश जारी गरेको हो ।
प्रजिअ शर्माले घरबाट निस्कँदा अनिर्वाय मास्क लगाउन, भौतिक दुरी कायम राख्न, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न र नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न÷गराउन आदेश जारी गरेको छ ।
आदेशमा सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक वा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवम् यस्ता प्रकृतिका कार्यक्रम नगर्ने÷नगराउने, अत्यावश्यक नियमित कार्यक्रमका हकमा प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गराउने गरी गर्ने÷गराउने उल्लेख छ ।
त्यस्तै माघ ७ गतेदेखी पार्क, सिनेमा हल, रेष्टुरेन्ट, सार्वजनिक सेवा प्रदायक निकाय वा कार्यालय, रंगशाला, हवाईयात्रा आदीमा खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन समेत आदेश दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा एक हप्ताभित्र १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई अनिवार्य कोभिड १९ विरुद्धको खोप लगाइसक्ने गरी कार्य तालिका बनाई कार्यान्वयन गर्ने, माघ १५ गतेसम्म भौतिक उपस्थितीमा विद्यालयमा पठनपाठन नगर्ने, पुर्व निर्धारित परीक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुनेगरी सञ्चालनको व्यवस्था गर्ने, मालपोत, नापी, खानेपानी, विद्युत, जिल्ला प्रशासन कार्यालय, टेलिकम, यातायात व्यवस्था विभाग, बैंक तथा वित्तिय संस्था, आन्तरिक राजश्व कार्यालयजस्ता सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने आदेशमा उल्लेख छ ।
त्यसैगरी सार्वजनिक यातायातमा स्विकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुलाई अनिवार्य मास्कको व्यवस्था गर्ने, जिल्ला भित्रका सरकारी र नीजि स्वास्थ्य संस्था र स्थानीय तहहरुले विगतमा सञ्चालन गरेका कोभिड–१९ उपचार केन्द्र, आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुष्ट अवस्थामा राख्ने आदेश दिईएको छ ।