मध्यपुर थिमिको मिनी कोशी टप्पुमा गरुड भेटियो

लक्ष्मी गारु, भक्तपुर, पुस २७
मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोशी टप्पुले परिचित मनोहरा क्षेत्र र यसको वरपर विश्वमै लोपोन्मुख लोभीपापी गरुढ भेटिएको छ । ख्याति प्राप्त बन्यजन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाण्डौंको शालीनदी क्षेत्रदेखी बोडेको मिनी कोशी टप्पुसम्म गरेको चरा गणना एवम् खोज तथा अनुसन्धानका क्रममा लोभीपापी गरुढ फेला परेको हो ।
गणनाका क्रममा अर्को लोपोन्मुख चरा गोमायू महाचील पच्चिस वटाको संख्यामा साथै विभिन्न १०६ प्रजातिका चरा फेला परेको टोलीले जनाएको छ । टोलीले हिँउदे आगन्तुक पानी चराहरुसँगै त्यसक्षेत्रमा पाईने रैथाने चराहरुको गणना गरेको हो । सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीमा राम चन्द्र मोयं श्रेष्ठ, गोपी श्रेष्ठ, पेम्बा शेर्पा, सुगम ताम्राकार, सत्यम पाठक र आयुशा पौडेल लगायतका पन्क्षीप्रेमी तथा वन्यजन्तु फोटोग्राफरहरुको सहभागिता रहेको थियो ।

लोभाीपापी गरुढ, तस्विर सौजन्य, सञ्जय था श्रेष्ठ

टोलीले नेपाल पन्छीविज्ञ संघ, वेटल्याण्ड ईन्टरनेशनल, हिमालयन नेचुरल, जेड एस एल, नेपाल पन्छी संरक्षण संघ, पोखरा पन्छी समाज, कोशी टप्पु वर्ड वाचिङक्याम्प प्रा.लि., नर्थप्वाइन्ट मल प्रा.लि.को संयुक्त सहकार्यमा पन्छी गणना गरेको हो ।
प्रत्येक बर्ष जाडो छल्न मंगोलिया, साइबेरिया, तिब्वत र युरोपबाट जलपंछी चरा नेपाल आउने गरेका छन । विश्वब्यापी समस्याको रूपमा देखा परेको जलवायु परिवर्तनका कारण चराहरुको बसाईसराईमा पनि प्रभाव पारेको छ । बसाईसराई गरी नेपालका विभिन्न सिमसार तथा ततीय क्षेत्र, नदि किनारहरूमा जाडो छल्न तथा बच्चा हुर्काउन आउने चराहरूको पछिल्लो अवस्थाको बारेमा अभिलेखिकरण गर्ने उद्देश्यले मनोहरा क्षेत्रमा चरा गणना गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।
तीन दिन सम्म चलेको गणना कार्यक्रममा कतिपय अघिल्ला बर्षहरूमा देखिने गरेका चराहरू यो बर्ष नदेखिएको र कतिपय नँया प्रजातिका चराहरू पनि देखिएको श्रेष्ठको अनुभव छ । ‘चराको बासस्थान दैनिक जोखिममा पर्दै गएको छ । यस्तै अवस्था रहे यसवर्ष देखिएका चरा अर्को वर्ष नदेखिन सक्छ,’ श्रेष्ठले भन्नुभयो ।
बढ्दो हरित गृह उत्सर्जन, शहरीकरण र प्रदुषणका कारण पछिल्लो समय चराहरूको बसाईसराई, आवतजावतमा परिवर्तन र असरहरू देखिंदै आएको टोलीमा संलग्न ख्यातिप्राप्त अर्का बन्यजन्तु फोटोग्राफर सुगम ताम्राकारले बताउनुभयो ।

गोमायू महाचील, तस्विर सौजन्य, सञ्जय था श्रेष्ठ

सरकारी निकायबाट अहिले देखिएको समस्या समाधानमा तत्परता देखाउनुपर्नेमा गणना कार्यमा सहभागी सदस्यहरूले जोड दिनुभएको छ । यसका साथै स्थानीय तह र स्थानीय बासिन्दाहरूको पनि आगन्तुक पानीचराको संरक्षण कार्यमा उत्तिकै भूमिका हुने सहभागीहरू बताउँछन । जनचेतनाको अभाबमा कतिपय स्थानीयले आगन्तुक पानीचराहरूको अबैध शिकार गर्ने, बासस्थानमा नोक्सान पु¥याउने आदि कार्यहरू हुँदै आएकोले स्थानीयमा यसबारेमा जनचेतना फैलाउन सके ठूलो टेवा पुग्ने उनीहरूको तर्क छ ।
मध्यपुर थिमिको बोडेस्थित मनोहरा नदीको तटिय क्षेत्र पछिल्लो समय मिनी कोशी टप्पुको नाले ख्याती कमाउँदैं गएपनि स्थानीय तहले संरक्षणको नीति ल्याउन सकेको छैन । सोही क्षेत्रमा तीब्ररुपमा शहरीकरण बृद्धि भइरहेको छ । मध्यपुर थिमि नगरपालिकाले पनि त्यस क्षेत्रको अव्यस्थित बसोवासलाई व्यस्थित शहरीकरण गर्ने उद्देश्यले जग्गा एकिकरण आयोजना सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
मनोहरा क्षेत्रमा पन्छी पर्यटनको प्रचुर सम्भावना भएपनि बढ्दो शहरीकरणले यसलाई जोखिममा पारेको संयोजक श्रेष्ठले बताउनुभयो । ‘नदी वरीपरी तीब्र गतिमा बढीरहेको शहरीकरण र यसले पारेको प्रदुषणका कारण माछा, भ्यागुता लगायत किराफट्यांग्रा आदिको कमी हुन गइ यसरी आवधिक बसाईसराई गरी आउने चराहरू ठूलो संख्यामा कमी आएको देखिन्छ,’ उहाँले भन्नुभयो ।
ततीय क्षेत्रमा मानवीय गतिबिधिहरुको बृद्धि लगायत ठूलो समस्याको रूपमा रहेको बालुवा लगायतको नदिजन्य पैदावारको अबैध दोहनले पनि आगन्तुक पानीचराहरू ठूलो समस्यामा परेको उहाँले बताउनुभयो । मनोहरा नदीमा दैनिक हुने गरेको बालुवाको चोरी निकासी, फोहोर फाल्ने प्रवृत्ति, पानीको प्रदुषण, चराको बासस्थान नष्ट गर्ने प्रवृत्तिले गर्दा पनि पानी चराहरुको बासस्थान जोखिममा परेको श्रेष्ठको भनाई रहेको छ ।