भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोर्डना खोप

भक्तपुर, पुस २७
भक्तपुरका करिव ६ हजार विद्यार्थीहरुले कोरोना विरुद्धको मोर्डना खोप लगाएका छन । खोप अभियान अन्तर्गत १२ देखी १७ उमेर समूहका भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये मंगलवारसम्म ६ हजार भन्दा बढीले मोर्डना खोप लगाएका हुन ।
विद्यार्थीहरुको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी विद्यार्थीहरुलाई खोप दिईएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मंगलवारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयहरुमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका विद्यालयहरुमा मंगलवारदेखी खोप अभियान शुरु भएको मिजारले बताउनुभयो ।


कोरोना संक्रमणको बढ्दो जोखिमलाई न्यूनिकरण गर्न सिसिएमसिको सिफारिसमा शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरपनि खोप अभियान भने सूचारु हुने प्रमुख मिजारले बताउनुभयो । ‘विद्यालय बन्द भएपनि स्थानीय तह र विद्यालयहरुले समन्वय गरेर खोप लगाउनेछन,’ उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीहरुले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधान बनाएको छ । साथै खोप अभियानको लागि भक्तपुर नपाले विभिन्न विद्यालय तथा कलेजहरुमा खोप केन्द्र तोकेको जनाएको छ ।